आभाष गुरु
जनकपुरधाम, पुस २१ गते ।
मधेशि समाज विविधतायुक्त समाज हो । यो मधेशको प्रमुख विशेषता र शक्ति हो , मधेशले यसमा गर्व गर्न सक्नुपर्छ । यहाँ सदियौंदेखि विभिन्न जातजाती, धर्म, सम्प्रदायहरू मिलेर बस्दै आइरहेका छन् । मधेशी समाज सहिष्णु समाज रहिआएको इतिहास छ । यो भूमि प्रेम र शान्तिको भूमि हो। पृथ्वीनारायण शाहको ‘एकीकरण’ अभियानदेखि नै अन्यकरणमा परेको र उपनिवेशमा रहेको मधेशको पीडा धेरै दर्दनाक छ ।
मधेशमा रहेको जात, धर्म सबैको साझा समस्या भनेको उत्पीडनको सवाल हो । एउटा निश्चित गोरा जाति भन्दा फरक कालो छाला भएका, खस भाषा बोल्न नजान्ने तराई मधेशका हिन्दु, मुस्लिम जो सुकै होस् उसको प्रधान समस्या राष्ट्रियताको सवाल हो । उनीहरूले राज्यबाट भोग्ने विभेद, उत्पीडन र दलन उस्तै-उस्तै हुन्, केवल अनुपात फरक छ ।
उपनिवेश, उत्पीडन, विभेद, दलन विरुद्धको संहर्षमा हिन्दु-मुस्लिम लगायत सबै जातजातीको बराबर योगदान रहेको छ । न कसैको कम, न कसैको बढी । बरु उक्त विद्रोहपछि प्राप्त भएको केही लाभांश एउटा धर्म, जातिहरूको भागमा बढी हुन गयो । र, सोही लाभान्वित जाति, धर्मले अल्पसंख्यक जाति, धर्ममाथि बेला-कुबेला दबाउन खोज्नु खेदजनक कार्य हो । यस्ले मधेशी समाजको आत्मालाई कुल्चिने काम गरिरहेको छ । यो मधेश आन्दोलन र मधेशी आदर्श विपरितको कार्य हो ।
धनुषामा एक धर्मका युवाले अरुको धार्मिक आस्थामाथि आघात पुर्याउने किसिमको अभिव्यक्ति टिकटक मार्फत दिनु र उसको जवाफमा अर्को धर्मको धार्मिक स्थल तोडफोड गरी धार्मिक ग्रन्थ जलाउनु निश्चय नै दुःखद र घृणित कार्य हो । सामाजिक र धार्मिक सद्भाव एवं सहअस्तित्व खलबलाउने कार्य गर्ने जो कोहीलाई पनि राज्यले कार्यवाहीको दायरामा ल्याइ भोलि हुनसक्ने सम्भाव्य घटनाहरूलाई निरुत्साहित गर्नुपर्छ ।
धर्म निरपेक्षता मधेशको आत्मा हो । यो संविधानले आत्मसात गरेपछि मात्र भएको होइन । मधेशी समाज आफैमा धर्मनिरपेक्ष समाज हो र पो त छठ पर्वमा मुस्लिमहरू हिन्दुको घरमा प्रसाद ग्रहण गर्ने र ईदमा हिन्दुहरू मुस्लिमको घरमा दावत खाने प्रचलन सदियौं देखि चलिआएको छ ।
हिन्दु र मुस्लिम एउटै टोलमा बस्दै आएका छन् । जानकी मन्दिरमा पूजा गरिरहँदा मस्जिदमा बजेको अजानको आवाज सुनिन्छ र छेउमै रहेको मस्जिदमा नमाज पढिरहँदा जानकी मन्दिरमा बजेको घण्टीको आवाज सुनिन्छ ।
सदियौंदेखि मिलेर बसेको समाजमा पछिल्लो केही वर्षदेखि अचानक किन धार्मिक द्वन्द्व निम्त्याइरहेको छ त ? यसको कारण छ । त्यो हो धर्मको राजनीति (यस बारे कहिले विस्तृतमा लेख्छु)। यो कुरा आज युवाहरू बुझ्नु अत्यन्त जरुरी भएको छ । सबैमिलेर कट्टरतालाई धराशायी बनाऔं ।
मधेशको एकता र धार्मिक सद्भाव कमजोर पार्ने कुनै पनि कार्य गर्ने जो कोहीलाई पनि भगवान र अल्लाहले (यदि छ भने) कहिले माफ गर्ने छैन ।
(मधेश अध्येता अभाष गुरुको फेसबुक वालबाट)

