जनकपुरधाम, असोज १३ गते ।
मधेशका पुर्व प्रदेशप्रमुख हरिशंकर मिश्रले डा. संगीता कौशल मिश्रा मधेशी भएकै कारण उनीमाथि निरन्तर अन्याय एवं अत्याचार भइरहेको बताएका छन ।
उनका अनुसार अघिल्ला सरकारदेखि हालसम्म, विभिन्न शक्ति र स्वार्थी समूहका कारण योग्य र सक्षम मधेशी महिलालाई उच्च पदमा पुग्नबाट रोकिएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्न डा.मिश्रालाई सचिव पदबाट राजीनामा गर्न लगाएर मन्त्रीका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाइसकेपछि विभिन्न स्वार्थ समूहले मन्त्री बन्न रोकेपछि पुर्वप्रदेश प्रमुख मिश्रले संचारमाध्यमहरुलाई यस्तो बताएका हुन ।
‘अघिल्लो सरकारले कानून मिचेर मधेशी भएकै कारण उनलाई सचिवमा बढुवा हुन दिएन । अहिलेको सरकारले पनि मन्त्रीपरिषद्ले सिफारिस गरिसकेको अवस्थामा समेत अख्तियारमा मुद्दा दर्ता हुन लागेको, उनी भारतीय रहेको भनी विभिन्न स्वार्थ समूह, दलाल र खसवादी मानसिक रोगीले हल्ला चलाएर उनलाई मन्त्री बन्नबाट रोकेको छ, पुर्व प्रदेशप्रमुख मिश्रले भने, ‘यो निकै दुर्भाग्यपुर्ण छ । यो कुनै सामान्य निर्णय होइन, यसले मधेशी समुदायमाथि विभेदलाई संस्थागत गरेको प्रमाणित गर्छ ।’
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालमा कांग्रेसकै नेताहरुका कारण डा.मिश्रा कानूनी व्यवस्था तहत सचिव बढुवा हुन नसकेको उल्लेख गरे ।
‘तत्कालीन स्वास्थयमन्त्री प्रदिप पौडेल महामन्त्री गगन थापाका मान्छे हुन । त्यसबेला दुबै नेताको चलखेलले करोडौं रकम लेनदेन गरी कानूनले नमिल्ने अर्का जुनियर कर्मचारीलाई सचिव बढुवा गरेको कुरा आयो । त्यसबेला पनि मधेशी र पहाडीबीचको विभेदको महसुस भएकाले यस्तो अवस्था आएको हो, उनले थपे, ‘ मधेशीमाथि यसरी निरन्तर अन्याय गरिरहेमा कांग्रेस पार्टी आफैं कमजोर हुन्छ । जनतालाई धोका दिने यस्तो निर्णय पार्टीकै लागि ड्यामेज हुनेछ । मैले सभापति देउवा महोत्तरी आउँदा उहाँलाई मञ्चमै भनेको थिएँ— यस्तो अन्याय नगर्नुहोस् भनेर । तर सुन्ने प्रयास भएन ।’
मिश्रले पछिल्लो समय भारत–नेपाल सम्बन्धको पाटोलाई लिएर भएका टिकाटिप्पणी प्रति समेत चिन्ता व्यक्त गरे । ‘हाम्रो देशले धेरै क्षेत्रमा भारतसँग सहयोगको अपेक्षा गर्छ । जनताले उपचारका लागि, पढ्नका लागि, रोजगारीका लागि भारत धाउँछन् । तर हरेक कुरा भारतीय नेतासँग मात्र जोडिन्छ भन्ने भ्रान्ति फैलाइन्छ । यस्तो विभेदले दुई देशबीचको सम्बन्धमा पनि नकारात्मक असर पार्छ ।’

