जनकपुरधाम, भदौ ३ गते ।
सहकारी ठगी प्रकरणमा जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने स्वास्थ्य समस्यामा परेका छन्।
बुटवलस्थित सुप्रिम सहकारी प्रकरणमा पक्राउ परेका उनी गत चैत २५ गतेदेखि निरन्तर जेलजीवन बिताइरहेका छन्। सुरूमा भैरहवा कारागारमा राखिएका लामिछानेलाई हाल ललितपुरको नख्खु कारागारमा सारिएको छ।
चार महिनाभन्दा बढी समयदेखि घाम नदेख्दा उनको शरीरमा भिटामिन ‘डी’को कमी भएको चिकित्सकहरूले बताएका छन्। यसै कारण स्वास्थ्यमा समस्या देखिएको र सावधानी अपनाउनुपर्ने सुझावसहित ट्रमा सेन्टरका डा. जितेन्द्रप्रसाद यादव नख्खु कारागारमै पुगेर परामर्श दिएका छन्।
भैरहवामा अँध्यारो कोठामा बस्दा घाम र ताजा हावाको अभाव भएको र नख्खुमा आएपछि अवस्था झनै बिग्रिएको रास्वपाका एक नेताले बताएका छन्। शरीर पहेँलो देखिएपछि जन्डिसको आशंका गरिए पनि चिकित्सकहरूले भिटामिन ‘डी’को कमी नै मुख्य समस्या भएको पुष्टि गरेका छन्।

