जनकपुरधाम, साउन ३ गते ।
रौतहटको फतुवा विजयपुर नगरपालिकामा देखिएको अनियमितता र भ्रष्टाचारसम्बन्धी समाचार लेखेकै कारण पत्रकार कृष्ण तिवारीमाथि दुर्व्यवहार गर्ने घटनामा संलग्न रहेको अभियोगमा नगरकी उपमेयर (कार्यवाहक मेयर) अम्बेया खातुनका छोरा मोहम्मद सनाउल्लाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
इलाका प्रहरी कार्यालय विजयपुरको अनुरोधमा जिल्ला अदालत रौतहटले सोमवार सनाउल्लाहलाई पक्राउ गर्न आदेश दिएको इन्स्पेक्टर सुरेन्द्र यादवले जानकारी दिए। तिवारीमाथि गत साउन ३० गते नगरसभा कार्यक्रममा सहभागी हुन जाँदै गर्दा सन्तपुर चौक नजिकै रोकेर अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरिएको थियो।
तिवारीले दिएको जाहेरीका आधारमा रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीको निर्देशनमा इलाका प्रहरी कार्यालय विजयपुरले अनुसन्धान अघि बढाउँदै आइतबार केही अभद्र मुद्दा दर्ता गरेको थियो। घटनापछि सनाउल्लाहलाई पक्राउ गर्न प्रहरीको छुट्टै टोली परिचालन गरिएको इन्स्पेक्टर यादवले बताए।
प्रेस चौतारी नेपाल, रौतहट शाखाले घटनाको तीव्र निन्दा गर्दै विज्ञप्ति जारी गरेको छ। चौतारीले पत्रकारमाथि दुर्व्यवहार, धम्की र आक्रमणको प्रयासलाई प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको गम्भीर प्रहार भनेको छ।
सचिव मुकेश कुमार साहद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “पत्रकारलाई धम्की दिने वा आक्रमण गर्ने व्यक्तिमाथि कडा कारबाही नगर्ने हो भने यस्ता घटनाहरू फेरि दोहोरिन सक्छन्।”
महालेखा परीक्षकको प्रतिवेदनमा विजयपुर नगरपालिकामा इन्धन तथा यातायात खर्चमा व्यापक अनियमितता भएको उल्लेख थियो। सोही प्रतिवेदनको आधारमा पत्रकार तिवारीले समाचार लेखेका थिए। समाचार सार्वजनिक भएलगत्तै उपमेयर खातुनका छोराले पत्रकारमाथि दुर्व्यवहार गरेको आरोप प्रेस चौतारीले लगाएको छ।
नेपालमा पछिल्ला वर्षहरूमा स्थानीय तहको भ्रष्टाचारबारे लेख्ने पत्रकारहरूलाई धम्की, दबाब र आक्रमणमा पार्ने प्रवृत्ति बढ्दो छ। चौतारीको विज्ञप्तिमा भनिएको छ, “पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो भन्ने कुरा बेवास्ता गर्दै सञ्चारकर्मीमाथि आक्रमण हुनु गम्भीर चुनौती हो।”
२०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट गोपाल प्रसाद यादव मेयर र अम्बेया खातुन उपमेयर निर्वाचित भएका थिए। तर विशेष अदालतबाट यादव दोषी ठहरिएपछि खातुन कार्यवाहक मेयर बनेकी हुन्। त्यसयता उनका श्रीमान् महमद सेराजको हस्तक्षेपले नगरपालिकाको प्रशासनिक कामकाज अस्तव्यस्त भएको भन्दै स्थानीय जनप्रतिनिधिहरूले नै गुनासो गर्दै आएका छन्।

