जनकपुरधाम, भदौ १ गते ।

धनुषामा सामूहिक बलात्कारको आरोपमा एक वकिल पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति धनुषाका अधिवक्ता प्रमोद कुमार राय रहेका छन् । उनलाई शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शनिबार उनलाई धनुषा ल्याइएको र आज जिल्ला अदालतमा पेस गरी म्याद थप गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । अधिवक्ता रायसहित तीन जनामाथि धनुषाकी एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएको हो ।

धनुषा प्रहरीका अनुसार घटना २०८१ साल माघ १२ गते बिहानको हो । कुहिरो लागेको बेलामा रायसहितको तीन जनाको समूहले जबर्जस्ती करणी गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी छिन् ।

पीडितले सो दिनै इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी गरेकी थिइन्, तर तत्काल दर्ता भएको थिएन । पछि पीडित पक्ष उच्च अदालतमार्फत परमादेश लिएपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जाहेरी दर्ता गरेको प्रहरीले जनाएको छ ।