जनकपुरधाम, साउन ३० गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन यसअघि नै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई निर्देशन दिइसकेका छन्।

उनका अनुसार, नेपालमा सूचना प्रविधिसम्बन्धी हुने सबै प्रकारका कारोबारबारे सरकारले जानकारी पाउनु आवश्यक छ। सामाजिक सञ्जालमार्फत सञ्चालन हुने सबै गतिविधि नेपालको कानुनअनुसार दायित्व पूरा गर्नुपर्ने र कर तिरेको हुनुपर्ने उनको भनाइ छ। ओलीले थपे, “सूचना प्रविधिको विकासका लागि आवश्यक सबै कदम सरकार चाल्नेछ।

सरकार जनताको लागि हो, त्यसैले जनताले चाहेअनुसार सूचना प्रविधिको प्रवर्द्धनमा ध्यान दिन्छ। यस क्षेत्रमा स्वदेश वा विदेशमा लगानी गरेर आम्दानी गर्न सकिन्छ, त्यसैले आत्मविश्वासका साथ अघि बढ्नुस्, सरकार तपाईंको साथमा छ।”

ओलीले सूचना प्रविधि तीव्र गतिमा विकास भई मानिसलाई प्रभावित गरिरहेको उल्लेख गर्दै, पुष्पलाल मध्यपहाडी राजमार्गको यात्राक्रममा रुकुमको दुर्गम गाउँका बुढीआमाहरूले समेत फेसबुकमा फोटो हेर्न र तान्न सक्ने भएको सुनेर आफू खुशी भएको स्मरण गरे।