जनकपुरधाम, साउन ३० गते ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणपछि भारतको औपचारिक यात्रामा जाने भएका छन्। उनी अगस्ट ३१ र सेप्टेम्बर १ मा बेइजिङमा हुने शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी भएर फर्किएलगत्तै भारत प्रस्थान गर्ने तयारीमा छन्।

परराष्ट्र मन्त्रालयका अनुसार ओली भदौ ३१ गते भारत जाने र असोज १ गते फर्कने सम्भावना छ। यसपटकको भ्रमण दुई दिनको मात्र हुने देखिएको छ, जसका कारण यो नेपालका प्रधानमन्त्रीको भारततर्फको हालसम्मकै छोटो औपचारिक यात्रा हुनसक्ने बताइएको छ।

भ्रमणमा विगतका केही परम्पराहरू तोडिने अनुमान गरिएको छ। उदाहरणका लागि, यसपटक ओली–मोदी भेट बोधगयामा हुने तयारी छ—यो गौतम बुद्धले ज्ञान प्राप्त गरेको ऐतिहासिक स्थल हो। अघिल्ला वर्षहरूमा भने नेपाल–भारत प्रधानमन्त्रीस्तरीय भेटवार्ता प्रायः नयाँदिल्लीको हैदरावाद हाउसमा हुने गर्थ्यो।

भ्रमणको विस्तृत कार्यतालिका अझै तय भइसकेको छैन। भारतीय विदेश सचिव विक्रम मिश्री आगामी आइतबार काठमाडौं आउने र तयारीबारे विस्तृत छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार, यसपटकका एजेन्डामा ठूला समझदारीहरू भन्दा पनि दुईपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने, विगतका सहमतिहरूलाई निरन्तरता दिने र केही नयाँ परियोजनाहरू अघि बढाउनेतर्फ ध्यान केन्द्रित हुनेछ।