जनकपुरधाम, साउन २८ गते ।

धनुषामा प्रहरीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले बुधबार मिथिला नगरपालिका–२ बाट पक्राउ गरेको दुई जनामध्ये एक जना पप्पु साह र अर्की एक महिला रहेका छन्।

प्रहरी निरीक्षक राकेश यादव र वरिष्ठ सई बालकृष्ण संजेलको नेतृत्वमा गएको टोलीले पक्राउको क्रममा एक राउण्ड हवाई फायर गरेको र अर्को पटक पप्पुमाथि गोली प्रहार गरेको हो।

घुँडामुनि गोली लागेर पप्पु घाइते भएका छन्।

पक्राउ परेकामध्ये पप्पु यसअघि पनि लागुऔषध कारोबारकै अभियोगमा ८ वर्ष जेल सजाय भोगिसकेका थिए।

उनीहरूबाट २२५ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीको भनाइ छ।