जनकपुरधाम, साउन १४ गते ।

सिरहामा एकजना वृद्धको हत्या भएको छ ।

धनगढीमाई नगरपालिका वडा नम्बर ११ स्थित आमचोकमा ८० वर्षीय फनिलाल यादवको हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी उनको गरी हत्या गरिएको हो ।

मंगलबार राति यादवमाथि अज्ञात समूहले टाउकोमा धारिलो हतियारले आक्रमण गरेका मृतकका छोरा कपिलदेव यादवले जानकारी दिए ।

‘घरमा सुतिरहेकै बेला बुबामाथि आक्रमणमा भएको हुनसक्छ । बिहान अबेरसम्म नउठेपछि खोजी गर्ने क्रममा उनलाई गम्भीर घाइते अवस्थामा फेला पारेका थियौँ’, उनले भने।

घटनापछि उनलाई लहानस्थित प्रादेशिक अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।