जनकपुरधाम, साउन ९ गते ।
सशस्त्र प्रहरी बल, नेपाल सर्लाही र भन्सार कार्यालय मलंगवाको संयुक्त टोलीले सर्लाहीमा ठूलो मात्रामा अवैध लत्ता कपडा र चुरोट बरामद गरेको छ।
विशेष सूचनाको आधारमा गत बुधवार राति ईश्वरपुर नगरपालिका–२, राईटरखोपस्थित श्री तुलसी पशुपालन फर्ममा छापा मारिएको हो।
छापाका क्रममा अनुमानित एक करोड अन्ठाउन्न लाख उनन्साठी हजार रुपैयाँ बराबरका ३१ बोरा कपडा र ७० पेटी ८ प्लाटिनम सेभेन प्रिमियम ब्लेण्ड (नीलो) ८ ब्रान्डका चुरोट बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
उक्त कारबाहीमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण मुख्यालय सर्लाहीबाट सशस्त्र प्रहरी उपरीक्षक देव बहादुर चन्दको नेतृत्वमा ५१ जना र भन्सार कार्यालय मलंगवाबाट भन्सार अधिकृत डम्बर बहादुर बस्नेतको नेतृत्वमा ५ जना खटिएका थिए। बरामद सामग्री भन्सार कार्यालय मलंगवामा दाखिला गरिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल मधेश प्रदेशका सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले जिम्मेवारी सम्हालेयता चोरी र तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता हासिल भएको बताएका छन्।
उनका अनुसार पछिल्ला दुई महिनामा मात्रै १७ करोड १२ लाख ४६ हजार ४ सय ८६ रुपैयाँ बराबरको अवैध सामान, १२८०.२१६ केजी गाँजा र ८२ हजार ९६६ थान ट्रामाडोल हाईड्रोक्लोराइड समेत बरामद गरी सम्बन्धित निकायमा बुझाइएको छ।
विगत केही समयदेखि व्यापक निगरानीका कारण तस्करहरू गोदाममा लुकाएर राख्न बाध्य भएको देखिएको सशस्त्र प्रहरीको भनाइ छ।
निकट भविष्यमै चोरी र तस्करी नियन्त्रणका लागि थप रणनीति र समन्वयसहित कार्य अघि बढाइने प्रहरीले जनाएको छ।

