जनकपुरधाम, साउन ८ गते ।

मधेशमा खडेरी परेपछि जसोतसो रोपिएको धान खेतमै सुक्न थालेको छ भने अर्कातिर सिँचाइको प्रयासकै क्रममा किसानहरूले ज्यान गुमाउने क्रम बढ्दै गएको छ।

धान रोप्न उमारिएको बिउ ब्याडमै सुक्न थालेपछि किसानहरू विद्युतीय मोटरको सहायतामा खेतमा सिँचाइ गर्न बाध्य छन्।

तर, असुरक्षित मोटर जडान र विद्युतको लापरबाहीका कारण करेन्ट लागेर सयौं किसानको ज्यान जान थालेको छ। पछिल्लो आर्थिक वर्षमा मात्रै मधेश प्रदेशभर १२५ जनाको मृत्यु भएको छ।

रौतहटमा मंगलवार मात्रै दुई जना किसानले सिँचाइकै क्रममा ज्यान गुमाए । माधवनारायण नगरपालिका–४ विसुनपुर मानपुरका ४० वर्षीय रामबाबु मुखिया बुधबार बिहान खेतमा सिँचाइ गर्न खोज्दा करेन्ट लागेर गम्भीर घाइते भए। उनलाई तत्काल प्रादेशिक अस्पताल गौर लगिएको थियो, तर चिकित्सकले मृत घोषणा गरे।

त्यस्तै, कटहरिया नगरपालिका–२ जमुनियाका ४२ वर्षीय मोक्ता देवानलाई मंगलबार राति करेन्ट लाग्दा ज्यान गयो। गरुडास्थित ग्रान्डी अस्पताल पुर्याउँदा उनको निधन भइसकेको थियो।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजय यादवका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्र करेन्ट लागेर १२५ जनाको मृत्यु भएको छ।
सबैभन्दा बढी मृत्यु बारामा २४ जना, रौतहटमा २३ जना, धनुषामा २१ जना, सर्लाहीमा १८ जना, सिरहामा १४, सप्तरीमा १३, महोत्तरीमा ९ र पर्सामा ३ जना रहेको प्रहरीले जनाएको छ।

‘करेन्ट लागेर बढी मृत्यु हुने कारण खेत सिँचाइको क्रममा भएको देखिएको छ,’ डीएसपी यादवले भने, ‘किसानले प्लग, बोर्ड र तार असुरक्षित ढंगले प्रयोग गर्दा यस्तो विपद् आइपरेको हो।’

गत साउन ३ गते सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ की ७० वर्षीया उर्मिलादेवी यादवको पनि खेतमै करेन्ट लागेर मृत्यु भएको थियो।
त्यस्तै, असार २४ गते मिथिला बिहारी नगरपालिका–९ का ४१ वर्षीय दिनेश यादवको पनि आफ्नै खेतमा मोटर जडानको तार सर्ट भएर मृत्यु भएको थियो।

रौतहटका प्रहरी प्रवक्ता डीएसपी दीपककुमार राय भन्छन्, ‘धेरैजसो घटनामा मोटरमा जडान गरिएको तार खुला हुन्छ, प्लग नहुने, लिकेज हुनेजस्ता जोखिमपूर्ण सेटिङले ज्यान लिएको देखिन्छ।’

उनका अनुसार केही स्थानमा चोरी विद्युत (हुकिङ) प्रयोग गर्दा पनि मृत्यु हुने गरेका छन्।’समयमै सचेतना, तालिम र प्रविधिमा सुधार नभए किसानको अवस्था झन् जोखिममा पर्छ,’उनले चेतावनी दिए।

विद्युत प्राधिकरणका क्षेत्रीय प्रमुख इञ्जिनियर अरुणकुमार साह भन्छन्, ‘बिजुली लिने प्रत्येक प्रयोगकर्ताले इन्सुलेटेड तार, ग्राउन्डिङ र सर्किट ब्रेकरको प्रयोग गर्नुपर्छ। अधिकांश किसानले यो मापदण्ड पुरा नगरेकाले घटना भइरहेको हो।’

उनका अनुसार, स्थानीय सरकार र कृषि कार्यालयले तालिम र सुरक्षासम्बन्धी जानकारी किसानलाई दिन जरुरी छ।
एकातिर वर्षा नहुने, अर्कातिर विद्युत सिँचाइ असुरक्षित भएपछि मधेशका किसानहरू बिचल्लीमा छन्। धान बचाउन खटिएका किसान आफैँ मरिरहेका छन्।

अनलाइन खबरको सहयोगमा