जनकपुरधाम, साउन ४ गते ।
केही वर्षअघिसम्म अनवर असरफ दिनभर औजार बोकेर एक्लै कारखानामा खटिन्थे। जिउभरि धुलोले ढाकिएको हुन्थ्यो, तर न धुलोको चिन्ता, न त भोक–तिर्खाको पर्वाह। जीवन त्यत्तिकै संघर्षमय थियो।
तर समयसँगै अनवरको जीवनशैली परिवर्तन भएको छ। अहिले उनी एसी लागेको कोठामा बसेर कर्मचारीलाई निर्देशन दिन्छन्। उनी जनकपुरधामको रामानन्द चोकस्थित ‘टेक्निकल युपिभिसी एण्ड अल्मुनियम उद्योग’का सञ्चालक हुन्।
एक सटरबाट सुरू भएको उनको यात्रा आज एक करोडभन्दा बढीको पुँजी भएको उद्योगमा परिणत भएको छ। त्यो यात्रा सजिलो थिएन। अनवरलाई उद्यमी बनाउने प्रेरणा भने विगतका अभाव, संघर्ष र श्रमले दिए।
महोत्तरीको लोहरपट्टी नगरपालिका–७, भ्रमरपुराका अनवरले उच्च शिक्षा त पाउन सकेनन्, तर एसएलसी पास गरे। आर्थिक अभावले उनी सानैदेखि काम गर्ने बाध्यता झेल्दै आएका थिए। एसएलसीपछि देशमै केही काम खोजे, तर सिप नभएकाले कसैले चासो दिएन।
केही महिना ज्यालादारी मजदुरी गरे, तर न त राम्रो आम्दानी भयो, न कुनै सिप सिक्ने अवसर। अन्ततः उनी गाउँका अरु युवाजस्तै २०६३ सालमा १८ वर्षको उमेरमा कतारतर्फ लागे।
कतारमा उनले ‘अल्मुनियम फर्निसिङ’ कम्पनीमा हेल्परको रूपमा काम थाले। शुरूमा त दिनभर पसिना बगाएर पनि सामान्य मजदुरकै तलब पाउँथे। तर उनले हार मानेनन्। काम सिक्दै गए—झ्यालढोका बनाउनेदेखि मेसिन चलाउने, नापजोख, काटकुट र जोडकाजोड गर्नसमेत जाने।
आठ वर्षसम्म कतारमा लगातार काम गरेपछि अनवर सिपयुक्त मात्र भएनन्, केही पूँजी पनि बटुले। तर देश र परिवारको मायाले उनलाई बाँधिरह्यो। ‘अब धेरै भयो,’ उनले ठाने, ‘अरूको देशमा अरूकै अधीनमा काम गर्नुको साटो आफ्नै देशमा केही गरौँ।’
त्यसपछि उनी स्वदेश फर्किए। कतारबाट ल्याएको पैसाले जनकपुरधाममा एउटा घडेरी किने, केही पैसा जगेडा राखे। आफैंले जानेको सीपबाट व्यवसाय सुरू गर्ने सोच बनाए र २०७२ सालमा रामानन्द चोकमा एउटा सटर भाडामा लिएर सानो कारखाना खोले।
शुरूवात झीनो थियो। करिब एक लाख लगानीमा उपकरण किने र काम थालनी गरे। तर व्यवसाय लयमा चल्न नपाउँदै मधेस आन्दोलन सुरु भयो। झन्डै ६ महिना व्यवसाय ठप्प रह्यो। त्यही बेला उनलाई फेरि कतार फर्किन दबाब पर्यो, तर उनले अडिग भएर प्रतीक्षा गरे।
विस्तारै अवस्था सामान्य भयो। अर्डर आउन थाले, ग्राहक बढ्न थाले, र काम विस्तार हुँदै गयो। आज उनको कारखानामा आठ जना कर्मचारी छन्। दिनहुँ ५० वटा अल्मुनियम र २० वटा युपिभिसीका झ्यालढोका निर्माण हुन्छन्।

अनवरको लक्ष्य भने यत्तिमा सीमित छैन। ‘युपिभिसीको माग बढ्दैछ, अल्मुनियमको घट्दैछ,’ उनी भन्छन्, ‘त्यहीअनुसार कारखानाको रणनीति पनि परिवर्तन गर्दैछु।’ आगामी दुई वर्षभित्र कर्मचारी संख्या १६ पुर्याउने उनको योजना छ।
तर अनवरको यात्रा सजिलो थिएन। मधेस आन्दोलनपछि कोरोना महामारीले एक वर्ष व्यवसाय थला पार्यो। अहिले पनि आर्थिक मन्दीका कारण माग घटेको छ। ‘उधारो कारोबार बढेको छ, भुक्तानी ढिला हुन थालेको छ,’ उनी भन्छन्।
मिटरब्याजीको हल्लाले पनि बजारमा नकारात्मक असर पारेको उनी बताउँछन्। ‘साहु–महाजनले लगानी गर्न छाडे, ऋण लिएर व्यवसाय गर्ने क्रम घट्यो,’ उनको भनाइ छ।
सरकारी सहयोगमा पनि उनी सन्तुष्ट छैनन्। ‘सानो उद्योगलाई सरकारले वास्ता गरेको छैन। बैंकले ब्याजदर बढाउँछ, कर्मचारीले ऋणका लागि कमिसन माग्छन्,’ अनवर भन्छन्, ‘बिचौलिया नदिइ ऋण पाइँदैन, यसले व्यवसायीको मनोबल घटाउँछ।’
अनवरको अनुभवमा, व्यवसायमा चुनौती त अनगिन्ती छन्। तर त्यही चुनौतीलाई स्वीकार गरेर अघि बढ्नुपर्छ। ‘काम गर्न सिप हुनुपर्छ, बल गरेर मात्रै हुँदैन,’ उनी भन्छन्, ‘आफ्नो देशमा काम गर्नुको छुटै आनन्द छ।’
कतारले उनलाई दुःखका साथसाथै सिप पनि दियो। तर साँचो सन्तोष, आत्मविश्वास र सफलताको स्वाद उनले आफ्नै माटोमा पाए। आज उनी भन्छन्, ‘विदेश गएको भए सायद अझै त्यही हुन्थेँ, तर आँट गरेर यहाँ काम गरेँ। अहिले सबै भन्छन्—राम्रो गरेछौ।’

