जनकपुरधाम, जेठ १२ गते ।

उनी जनकपुरधामको संकटमोचन मन्दिर छेउछाउको बाटोमा प्रायः बिहान साढे ७ बजेतिर देखिन्छिन्। कठ्यांग्रिदो जाडो होस्, झमझम झरी होस् वा उखरमाउलो गर्मी नै किन नहोस् उनी आफ्नो काममा दृढ छिन्। प्लास्टिकका भाँडाबर्तन टाउकोमा बोकेर हिँड्ने लक्ष्मीनिया गाउँपालिका-४ सपहीकी ५७ वर्षीया सीता यादव दूध बेच्न सधैं गाउँबाट जनकपुर आउँछिन्।

१० वर्ष देखि उनी हरेक दिन गाउँबाट २५/३० लिटर दुध बोकेर जनकपुरमा बेच्न आउँछिन् । मैले उनलाई सोधे त्यती भारी बोकेर हिँड्दा थकाइ लाग्दैन ? ‘किन नलाग्नु, घर पुग्दा जिउ, हात टुटेजस्तो हुन्छ। यहाँका घरहरू पनि अग्ला अग्ला छन्। माथिल्लो तल्लासम्म दूध पुर्‍याउन जाँदा थाकेर लखतरान हुन्छु। तर यत्ति नगरे गुजारा चल्दैन। पेटले त जे पनि गराउँछ नि,’ उनले दुखेसो सुनाइन ।

गुजारा गर्नका साथै छोरीको विवाहका लागि लिएको ऋण तिर्न यति कष्ठ गरिरहेको उनको भनाई छ । पहिले उनको एक एक बिघा खेत थियो । खेतीपाती गरेरै उनी गुजारा गर्थिन । तर तीजना छोरीको विवाह गर्दा उनले १० कठ्ठा खेत बेच्नु पर्यो । सीता श्रीमानसँग नबसेर अलग्गै बसिरहेकी छन । विवाह भएको केही वर्षमै उनीहरुबीच समबन्धमा दरार आउन थाल्यो । श्रीमान अरु महिलासँग समबन्धमा रहेको र त्यसैले विवाद सिर्जना भएको सीताको दावी छ ।

‘उनी अर्कै महिलासँग बस्छन्। उनैका छोराछोरी मात्र हेर्छन्। म पहिलो छोरी हुँदा चार वर्ष माइतै बसेँ। पछि फेरि दुई जना छोरी भए। माइतीले त अर्को बिहे गर भनेका थिए, तर छोरीहरूको माया लाग्यो। उनीहरूलाई दुःख होला, समाजले नराम्रो भन्ला भनेर मैले आफ्नो जिन्दगीको बारेमा सोच्दै सोचिनँ। म आफैं तकलिफ झेल्छु, तर बच्चाहरूलाई झेल्न दिन्न भनेर एक्लै बसेँ,’ उनले भनिन्, ‘मलाई मालिकले जति लेखेका छन्, त्यति कष्ट त झेल्नै पर्ला। छोरीहरूलाई भने दुःख पर्न दिन्न भनेर अठोट लिएको थिएँ।’

छोरीहरुको लालनपालन गर्दै उनीहरुको विवाह राम्रो परिवारमा होस भनेर सीता दिनरात मिहिनेत गर्न थालिन । खेतीपातीसँगै भैंसी समेत पालिन । तर त्यती गर्दा समेत छोरीको विवाहमा लिएको ऋण तिर्न सक्ने अवस्था नभएपछि उनी आफ्नो भैंसीको दुधसँगै गाउँबाट दुध संकलन गर्न थालिन ।

‘रामानन्द चोकसम्म बस चढेर आउँछु। त्यहाँबाट दुध बोकेर जनकपुर घुम्छु। अहिले दिनको २५ लिटर ल्याउँछु । बाहिर देखेजस्तो सजिलो छैन यो काम । धेरै परेसानी छ,’ उनले भनिन्, ‘दूध बेचेर घर गएपछि भैंसी स्याहार्नुपर्‍यो। बताहजस्तो दिनभर खेतमा खट्छु। आफ्नो भैंसीको छोडेर गाउँको भैंसीबाट संकलन गरेको दुध बेचेर दिनको पाँच सय फाइदा हुन्छ। आफ्नो भैंसी ब्यायो भने कमाइ अझै थपिन्छ।’ कमाई गरेको पैसा ऋण तिर्नका साथै आफ्नो गुजारा र छोरी नातीहरुमा खर्च गरिरहेको सीताले बताइन । अहिले उनको ५ लाख रुपैँया ऋण छ। लघुवित्तहरूसँगै गाउँलेबाट तीन रूपैयाँ सैकडा ब्याजमा उनले ऋण लिएकी हुन ।

‘छोरीहरूले काम नगर्नू भन्छन्। ऋण पनि हामी नै तिरिदिऊँला, बसेर खानुस् भन्छन्। तर म भन्छु, तिमीहरू आफैं श्रीमानमाथि निर्भर छौ, म जहिलेसम्म कमाउन सक्छु, तहिलेसम्म कमाउँछु,’ सीताले थपिन । जिन्दगीमा अरू कुराले खासै चित्त नदुखेपनि श्रीमानले धोका दिएर एक्लै छोडेपछि धेरै रुएको उनले पीडा पोखिन । ‘श्रीमानले यति धेरै तकलिफ दिए, कहिल्यै खुसी हुन सकिएन। छोरीहरूको बिहे गर्ने बेला पनि पैसा थिएन। त्यसैले छोरीको बिहेमा पनि खुसी हुन सकिनँ, उनले भनिन्, ‘अरु मर्ने बेलासम्म सबै ऋण चुक्ता गर्न पाए हुन्थ्यो जस्तो लाग्छ। यो बुढियाले पैसा खाएर मर्‍यो भनेर कसैले नभनिदियोस्। त्यसकै लागि यति मिहिनेत गरिरहेकी छु ।’

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO