जनकपुरधाम, भदौ २८ गते ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरे पनि अब उनले पद नछाड्ने बताएका छ ।
फेसबुकमा स्टाटस लेखेर राजिनामा दिएका उनले औपचारिक रुपमा प्रदेश प्रमुखलाई पत्र भने बुझाएका थिएनन्।
जेन–जीको आन्दोलनकै बीच मंगलबार सिंहले फेसबुकमा राजीनामा घोषणा गरेका थिए। डा. सीके राउतको फेसबुक पेजमार्फत राजीनामा दिन निर्देशन आएपछि उनले पद त्यागको घोषणा गरेका थिए ।
तर पछि उनले आफू राजनीतिक परिवर्तनको लागि बाधक बन्न नचाहेकोले र राजीनामा नदिने स्पष्ट पारेका छन्।
सिंहका अनुसार जनधनको क्षति रोक्न पदत्यागको तयारी गरिएको भए पनि आन्दोलनकै क्रममा क्षति भइसकेकाले राजीनामा दिने औचित्य अब नरहेको छ। उनले आफूलाई हटाएर अर्को व्यक्तिलाई मुख्यमन्त्री बनाउन राजनीतिक खेल भएको खण्डमा त्यसमा सहमति नदिने पनि बताएका छन्।
‘जनधनको क्षति रोक्नको लागि मैले पद त्याग गर्न तयार रहेको समाजिक संजालमा लेखेको थिए तर जनधनको क्षति भएको कारणले अब त्यो कुराको औचित्य सकिएको छ’, उनले भने ।
यसअघि मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमा लेखेका थिए, `जनताको विश्वास र मतबाट निर्वाचित हुनु मेरो जीवनको गौरव हो। तर नागरिकको ज्यान सुरक्षित राख्न नसकिएको वर्तमान अवस्थामा आत्मसम्मानपूर्वक पदत्याग गर्न बाध्य भएँ।´
उक्त आन्दोलनका क्रममा मधेस प्रदेश सरकारको प्रशासकीय भवन, प्रदेशसभा र अन्य सरकारी कार्यालय तथा नेताहरूको घरमा आगजनी भएका थिए।

