जनकपुरधाम, भदौ ६ गते ।
भारत सरकारले नेपालका दुई जलविद्युत् आयोजना (मेवा खोला–४८.५ मेगावाट र करुवा सेती–३१.०४ मेगावाट) बाट उत्पादन भएको कुल ८० मेगावाट विद्युत खरिद गर्न अनुमति दिएको छ। यससँगै भारततर्फ निर्यात हुनसक्ने कुल विद्युत् परिमाण १,०९०.९ मेगावाट पुगेको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार यसअघि नै १,०१०.९ मेगावाट विद्युत् निर्यातको अनुमति प्राप्त भइसकेको थियो। नयाँ थपिएको ८० मेगावाटसहित कुल क्षमता १,०९०.९ मेगावाट पुगेको हो। साथै, भारतमार्फत ४० मेगावाट विद्युत् बंगलादेशलाई पनि आपूर्ति भइरहेकाले हाल नेपालबाट निर्यात गर्न सकिने विद्युतको सम्भावित कुल परिमाण १,१३०.९ मेगावाट पुगेको छ।
प्राधिकरणले जनाएको अनुसार पछिल्लो पटक भारतले २६ साउनमा २०० मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति दिएको थियो भने बिहीबार थप ८० मेगावाट निर्यात अनुमतिपत्र प्राप्त भएको हो। यो अनुमति दुई पक्षीय सम्झौताअन्तर्गत मध्यम अवधिका लागि प्रदान गरिएको हो, जसको अवधि २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्म रहनेछ।

