जनकपुरधाम, साउन २५ गते ।
वेश्यावृत्ति गराउँदै आएको आरोपमा धनुषाको ढल्केवरस्थित मौसम होटलका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय युवाहरुको पहलमा शुक्रबार राति करिब ९ बजे होटलमा आकस्मिक रूपमा छापामारी गरिएको थियो । त्यस क्रममा यौन धन्धा चलिरहेको भेटिएको थियो।
छड्के हानेका ती युवाहरुले घटनाबारे प्रहरीलाई खबर गरेपछि वेश्यावृतिमा संलग्न व्यक्तिहरू भागेका थिए । युवाहरूले भने प्रहरी आफैंले सूचना दिएर उनीहरुलाई भगाएको आशंका गरेका छन ।
एक स्थानीय युवाले नाम नखुलाउने सर्तमा भने, ‘प्रहरीले धेरै होटलसँग मासिक रकम लिने गरेको कुरा खुलेआम छ। पैसा लिने भएपछि तिनीहरूलाई पक्राउ गर्ने कुरा हुँदैन। यहाँ अवस्था नियन्त्रणबाहिर पुगेको छ, त्यसैले हामी चुप बस्न सक्दैनौं।’
छापामारीका क्रममा होटल सञ्चालकले सेवाको दरभाउ तोकिरहेको भिडियो पनि सार्वजनिक भएको छ। द पब्लिक टुडे अनलाइनमा सार्वजनिक भएको उक्त भिडियोमा उनले भनेका छन्, -‘तपाईंलाई जस्तो चाहिन्छ त्यस्तै छ— तीन हजारको पनि छ, २५ सयको पनि। जस्तो लिनुस्।’
यही प्रमाणका आधारमा इलाका प्रहरी कार्यालय ढल्केवरले सञ्चालकलाई पक्राउ गरेको हो। ‘इन्सपेक्टर विदामा हुनुहुन्छ, भोलि आएपछि आवश्यक प्रक्रिया अघि बढाइनेछ’, एक प्रहरीले भने ।
हालसालै ढल्केवरका धेरै होटलहरूमा यौनजन्य क्रियाकलाप बढेको भन्दै स्थानीयवासीले चासो व्यक्त गर्दै आएका छन्। उनीहरूको भनाइमा यसले समाजमा नकारात्मक असर पारिरहेको छ र प्रहरीको निष्क्रियताका कारण युवाहरू स्वयं सक्रिय हुन बाध्य भएका हुन्।

