जनकपुरधाम, साउन १५ गते ।
जनकपुरधाम उपमहानगरपालिका–४ स्थित कटैयाचौरीमा बस्दै आएकी १५ वर्षीया अञ्जली कुमारी यादवको हत्या अभियोगमा उनका आमाको प्रेमी रामबाबु साह पक्राउ परेका छन्।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९, इच्छापुरका ३५ वर्षीय साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। उनलाई बुधबार राति करिब १०: ३० बजे पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए।
अनुसार, सोमबार राति साढे ११ बजे खुकुरी प्रहार गरी अञ्जलीको हत्या गरिएको थियो। घटनामा अञ्जलीकी आमा ३५ वर्षीया आशा देवी यादव र मिथिला नगरपालिका–१, ढल्केवरकी १४ वर्षीया आशा यादव घाइते भएका थिए। घाइते आशाको धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने उनको अवस्था गम्भीर रहेको प्रहरी स्रोतले जनाएको छ।
प्रहरी अनुसन्धान अनुसार घटनाको जड आमाको प्रेम सम्बन्धमा रहेको देखिएको छ। रामबाबु साह यसअघि आफ्नै पहिलो पत्नीको हत्या आरोपमा पाँच वर्ष जेल बसेर २०७७ मा रिहा भएका थिए। रिहाइपछि उनले दोस्रो विवाह गरी गाउँमै बस्न थालेका थिए। त्यही बेला उनी आशा यादवसँग प्रेम सम्बन्धमा आएका थिए । उनी मदिरा पसल सञ्चालन गर्दै आइरहेकी थिइन्।
जब आशाकी श्रीमानलाई उनीहरूको अवैध सम्बन्धको जानकारी भयो, तब गाउँमा छलफल गरिएपछि आशा र रामबाबु सँगै बस्न सहमति भएको थियो। आशाकी छोरीहरूलाई उनका पूर्व श्रीमानले हेरचाह गर्ने सहमति भएको थियो।
तर, समयसँगै आशाको आर्थिक अवस्था बलियो बन्दै जाँदा उनले रामबाबुसँग दूरी बढाउन थालिन् र पुनः पूर्व श्रीमानसँग सम्पर्क बढाइन्। यसै कारण ईर्ष्यायुक्त र आक्रोशित बनेका रामबाबुले हत्या योजना बनाएको खुलेको छ।
प्रहरीसमक्षको बयान अनुसार रामबाबुले दुई महिना अघि आशालाई जीविकोपार्जनका लागि एक अटो किनिदिएका थिए, जुन पछि उनले आफ्नै भाइको नाममा नामसारी गराइन्। साथै, आशाले बस्दै आएको कोठा समेत फेरिन् र नयाँ कोठामा आफ्नो पुरानो श्रीमानलाई समेत राख्न थालेपछि रामबाबु झन् आक्रोशित बने।
घटनाको रात उनले बारम्बार फोन गर्दा आशाले फोन नउठाई छोरी अञ्जलीलाई दिएको, फोन उठेपछि पनि गाली गरेको जनाइएको छ। यसै रिसको झोंकमा उनी खुकुरी लिएर आशाको डेरामा पुगे र अञ्जलीलाई प्रहार गरे। घटनामा आशा र र उनकी मामाकी छोरी राधा यादव पनि घाइते भएका थिए ।

