जनकपुरधाम, साउन १४ गते ।

लागुऔषधको ठूलो परिमाणसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । चम्पारण, बिहारको अर्गवा–६ निवासी ५० वर्षीय उपेन्द्र (मन्जन) साह १० हजार ३२६ वटा नशीला ट्याबलेट बोकेर हिँडिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।

मंगलबार राति बाराको सिम्रौनगढ–६ स्थित नहर क्षेत्रमा मधेश प्रदेश प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानमा साह सक्रिय लागुऔषध कारोबारी रहेको पुष्टि भएको प्रहरीको भनाइ छ ।

लागुऔषध कारोबारविरुद्ध नेपाल प्रहरीले देशव्यापी अभियान तीव्र पार्दै आएको छ । पछिल्लो एक वर्षमा मात्र करिब २३ करोड रुपैयाँ बराबरको नशीला पदार्थ बरामद गरिएको प्रहरीको तथ्याङ्कले देखाउँछ ।