जनकपुरधाम, साउन १३ गते ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ जिरोमाइलमा गए राति एक बालिकाको हत्या भएको छ। राति करिब ११ : ३० बजे उक्त क्षेत्रमा खुकुरी प्रहारबाट १५ वर्षीया अञ्जलीकुमारी यादवको ज्यान गएको हो।

मधेस प्रदेश प्रहरी प्रवक्ता डिएसपी विजय यादवका अनुसार मृतक अञ्जली बटेश्वर गाउँपालिका–४, बटेश्वरकी बासिन्दा हुन्। हमलामा उनकी आमा ३५ वर्षीया आशा यादव र भतिजी १४ वर्षीया राधा यादव घाइते भएका छन्। राधा मिथिला नगरपालिका–१ ढल्केवर निवासी ढोगेन्द्र यादवकी छोरी हुन्।

उनीहरू तीनै जना जनकपुरधाम–४ जिरोमाइलबाट दुई किलोमिटर पूर्व सूर्यनन्द चौधरीको एकतले घरमा डेरा गरी बस्दै आएका थिए ।

गम्भीर घाइते अवस्थामा रहेका तीनै जनालाई तत्काल मधेस प्रदेश प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा राति करिब १२ बजे चिकित्सकले अञ्जलीकुमारीलाई मृत घोषणा गरेका थिए। आशाको अवस्था गम्भीर रहेको जनाइएको छ।

घटनामा क्षिरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहमाथि खुकुरी प्रहार गरेको आरोप छ। उनी हाल फरार छन्। साह सवारी चालक हुन् र डेरानजिकै बस्दै आएका थिए।

मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदीका अनुसार साहले डेरामा आक्रमण गरेका थिए।’ती व्यक्तिले आमामाथि प्रहार गर्न खोज्दा बालिकाहरूले जोगाउने प्रयास गर्दा घाइते भएका हुन्,’ चतुर्वेदीले बताए। अञ्जलीकुमारीको घाँटीमा गम्भीर चोट लागेको छ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाउने कार्य जारी राखेको छ भने आरोपीको खोजी तीव्र पारिएको छ। ‘पहिचान खुलेको छ, पक्राउ अनिवार्य छ, कुनै सम्झौता हुँदैन,’ डिआइजी चतुर्वेदीले भने।