जनकपुरधाम, साउन ९ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेसका सुख्खाग्रस्त क्षेत्रको स्थलगत अवलोकन गरेका छन्। उनले बारा र महोत्तरी जिल्लामा पुगेर सुख्खाको असर तथा कृषिको अवस्था प्रत्यक्ष निरीक्षण गरेका हुन्।
देशभर कमजोर मनसुनको कारण पर्याप्त वर्षा नहुँदा कृषिमा गम्भीर असर परेको छ। विशेषगरी मधेस क्षेत्रमा झनै वर्षा नपरेकाले हालसम्म ४० प्रतिशतभन्दा कम मात्र रोपाइँ सम्पन्न भएको कृषि विज्ञहरूले जनाएका छन्।
रोपाइँ प्रभावित हुँदा यस वर्ष धान उत्पादनमा उल्लेखनीय गिरावट आउने अनुमान गरिएको छ। सरकारले यसअघि नै मधेसलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ।
प्रधानमन्त्री ओलीको मधेस भ्रमण अन्तर्गत आज दिउँसो १: ४० बजे जनकपुर-कुर्था-सम्सी सडकखण्डअन्तर्गत महोत्तरीको रौजास्थित रातुखोला पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
त्यसपछि दिउँसो २ बजे बाराकै परवानीपुर गाउँपालिकामा नव निर्मित प्रशासकीय भवनको उद्घाटन गर्नेछन्। प्रधानमन्त्री ओली आजै दिउँसो ३ बजे काठमाडौं फर्किने कार्यतालिका रहेको छ।


