जनकपुरधाम, साउन ७ गते ।

जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित मणिमण्डपमा साढे १८ करोडको लागतमा रमायणकाल झल्किने गरी विवाह मण्डप बनेर तयार भएको छ ।

सीता–राम विवाहसँग सम्बन्धीत मणिमण्डपमा संघ सरकारले बनाएको उक्त संरचनालाई सीतापुष्पवाटिकाको नाम दिइएको छ ।
यो त्यहीँ ठाउँ हो जहाँ त्रेता युगमा राम र सीताको विवाह भएको थियो भन्ने विश्वास गरिन्छ।

गुठी संस्थानले विवाहमण्डपमा भौतिक संरचना निर्माणका लागि साढे चार बिघा जग्गा उपलब्ध गराएको छ। बुधवार संघीय सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह यस संरचनाको उदघाटन गरे ।

रविना कन्सट्रक्सन प्रा.लि., स्वंयम्भु, काठमाडौँले ठेक्का सम्झौता अन्तर्गत निर्माण गरेको यस आयोजना अन्तरगत सुविधा सम्पन्न प्लेस भवन सहित २ वटा धर्मशाला, २ वटा पभेलियन निर्माण गरिएको छ ।

प्यालेश भवनमा ७० जना अटाउने हलसहित अट्याच ट्वाइलेटसहित १६ वटा बेडरुम, १ वटा डाइनिंग हल, १ वटा किचेन, १ वटा म्युजियम अफिस कोटा, १ वटा डाइनिंग हल, १ वटा किचेन, विवाहमण्डप, दुई वटा पभेलियम र १० कोठे सटर रहेको छ ।

यस आयोजना अन्तर्गत विवाहपञ्चमी, परिक्रमा जस्ता धार्मिक उत्सव तथा समारोहमा जनकपुरधाममा आउने धर्मावलम्बीहरुलाई उचित बसोबास तथा व्यवस्थापनका लागि अन्य संरचना अन्तरगत केही धर्मशाला निर्माण तथा स्तरोन्नति गरिएको छ ।

 

विवाह मण्डप परिसरमा एउटा सानो पोखरी पनि छ जहाँ सीताले हात धोएको विश्वास गरिन्छ। पोखरी किनारमा चम्पादेवीको मन्दिर छ। विवाहका बेला सीताले यही मन्दिरमा पूजापाठ गरेको विश्वास छ।

यहाँ बिहेका लागि आउने जोडीले सीताको ‘मडवा वेदी’ मा पूजा गर्ने चलन छ। मडवा वेदी कसरी पुनसंरचित र सौन्दर्यीकरण गर्ने भन्ने टुंगो लागेको छैन।

वेदी भएको ठाउँमा उत्खनन् गर्दा पुराना गहना, सिन्दुर लगायतका सामान फेला परेको स्थानीयवासीको भनाइ छ।
सितापुष्पवाटिका निर्माणका लागि २०७५ मंसिर २४ गते सम्झौता भएको थियो ।

मूल्य अभिवृद्धि कर बाहेक १८ करोड १५ लाख २२ हजार ७९३ मा सम्झौता भएकोमा समयमा काम सम्पन्न हुन नसकेपछि समय थप गरिएको थियो । २०८२ असोज ३० गतेभित्र काम सम्पन्न गर्नेगरी म्याद थप भएको थियो ।

हालसम्म मूल्य अभिवृद्धि कर बाहेक १८ करोड ५३ लाख २१ हजार ७८०.१४ रुपैयाँ खर्च भएको संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, जनकपुरधामले जनाएको छ ।

सुविधा सम्पन्न र आकर्षक यी संरचना देखेर यहाँका बासिन्दा दंग छन्। ‘त्रेतायुगको जस्तै जनक दरबार बनेको छ। यहाँ सीता माताको जस्तै विवाह हुन्छ। देश विदेशबाट तीर्थालुहरू आउँछन्। व्यापार–व्यवसाय बढ्छ,’ स्थानीय किशोरी राउत कुर्मी भन्छन्, ‘धर्मको काम भइरहेको देखेर हामी धेरै खुसी छौं।’

स्थानीयवासी, विभिन्न संघसंस्था र जानकी मन्दिर व्यवस्थापनले विवाह मण्डपको सौन्दर्यीकरण र नयाँ संरचना निर्माण गर्न माग गर्दै आएका थिए।
यसै अनुसार सहरी विकास मन्त्रालयको ‘सघन सहरी कार्यक्रम’ अन्तर्गत २०७४ साल माघमा सीतापुष्प वाटिका मणिमण्डपमा पूर्वाधार निर्माण गर्न ‘रविना कन्स्ट्रक्सन प्रालि’ सँग ठेक्का सम्झौता भएको थियो।