जनकपुरधाम, साउन ७ गते ।
सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रदेशभरि तीन महिनाका लागि यस्तो घोषणा गर्ने निर्णय गरेको हो।
यसअघि, असार २६ गते मधेश प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो।
एक मन्त्रीका अनुसार, “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा १ अनुसार मधेश प्रदेशलाई तीन महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरिने र सो सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गरिने निर्णय गरिएको छ।”
उक्त ऐन अनुसार, यदि सो अवधिभित्र विपद् स्थितिमा सुधार नआएमा नेपाल सरकारले सूचना प्रकाशनमार्फत अवधि थप गर्न सक्ने व्यवस्था पनि छ।
हाल मधेश प्रदेश गम्भीर खडेरी र सुक्खाको चपेटामा परेको छ। वर्षा नहुँदा खानेपानी र सिंचाइ प्रणालीमा समस्या देखिएको छ।
इनार, ट्युबवेलजस्ता भूमिगत जलस्रोतहरू सुक्खिँदै गएकाले सर्वसाधारण गम्भीर समस्यामा परेका छन्।

