जनकपुरधाम, साउन ६ गते ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता विपी कोइरालाको ४३ औँ स्मृति दिवसको अवसरमा धनुषामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
नेपाली कांग्रेस धनुषा जिल्ला कार्यलयको आयोजनामा भएको उक्त रक्तदान कार्यक्रममा तरुण दल, नेपाल विद्यार्थी संघलगायत कांग्रेसका नेता तथा कार्यकर्ताहरूले सक्रिय सहभागिता जनाए।
कार्यक्रममा ६१ जनाले रक्तदान गरेको तरुण दल क्षिरेश्वरनाथ नगरपालिकाका अध्यक्ष उमेश यादवले बताए । ‘रगतको अभावले कोही पनि मृत्युवरण गर्नु नपरोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको हो,’ उनले भने ।
धनुषा कांग्रेस सभापति योगेन्द्र पंजियार स्वयंले रक्तदान गर्दै रक्तदातालाई प्रोत्साहन गरे । ‘जबसम्म म सभापति छु, विपी स्मृति दिवसमा हरेक वर्ष रक्तदान कार्यक्रम गरिनेछ ,’ उनले भने ।
उनका अनुसार विपी कोइरालाको योगदान केवल राजनीतिक स्वतन्त्रतासम्म सीमित थिएन, उनी समाजसेवा, मानवता र राष्ट्रिय एकताको प्रतीक थिए।’उनको स्मृतिमा रगत दान गर्नु उनको आदर्शप्रति सच्चा श्रद्धाञ्जली हो,’ उनले भने।

देशभर विपी कोइरालाको स्मृति दिवस विभिन्न सामाजिक, सांस्कृतिक र राजनीतिक कार्यक्रममार्फत नेपाली कांग्रेसले मनाइरहेको छ।
रक्तदान कार्यक्रमले केवल विपीप्रतिको सम्मान मात्र होइन, जीवन बचाउने उदात्त कार्यका रूपमा पनि जनसमुदायमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएका छन्।

