जनकपुरधाम, साउन ५ गते ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा क्षमता विस्तार कार्यका कारण राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको जानकारी दिएको छ। यसले धनुषा सहित देशभरका सबै जिल्लामा सेवा प्रभावित हुने बताइएको छ ।

विभागका सूचना अधिकारी शिवराज सेढाइँका अनुसार हाल अनलाइनमार्फत प्रदान गरिँदै आएको राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र कार्ड वितरण, विवरण सच्याउने, जन्म दर्ताका क्रममा परिचय नम्बर प्राप्त गर्ने, सामाजिक सुरक्षा भत्ता लाभग्राहीको प्रमाणीकरण तथा अन्य सार्वजनिक सेवासँग अन्तरआबद्ध सेवा स्थगित छन्।

विभागले आइतबारदेखि ती सेवा अवरुद्ध भएको जनाउँदै मर्मत कार्य पूरा भएपछि मात्र पुनः सेवा सुचारु हुने जानकारी गराएको छ। सेवाग्राही र सरोकारवालालाई सूचित गर्न विभागले सार्वजनिक सूचना समेत प्रकाशन गरेको छ।

यद्यपि, राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा वितरण कार्य अफलाइनमार्फत सम्भव भएकाले सेवा इकाईहरूलाई सोही अनुसार कार्य अघि बढाउन भनिएको छ।

अफलाइनमार्फत विवरण दर्ता गराएका व्यक्तिहरूलाई अनलाइन सेवा सुचारु भएपछि राष्ट्रिय परिचय नम्बर एसएमएसमार्फत प्राप्त हुने व्यवस्था गरिएको विभागले जनाएको छ। साथै, यस कार्यमा सबै सेवाग्राही तथा सरोकारवालाको सहयोगका लागि अनुरोध समेत गरिएको छ।