जनकपुरधाम, साउन ५ गते ।

रगत अभावलाई न्यूनीकरण गर्ने उद्देश्यले स्थापना गरिएको ‘ब्लड फर नेपाल’ संस्थाले आफ्नो सातौं वार्षिक उत्सव मनाउँदैछ।

सन् २०१७ मा धनुषाको बटेश्वर गाउँपालिका निवासी सरोज कुमार महतोद्वारा स्थापना गरिएको यस संस्थाले हालसम्म २५ हजार ३८२ जनालाई रगत व्यवस्थापनमा सहयोग गरिसकेको छ।

रक्त अभावको अवस्थालाई सहज बनाउने उद्देश्यले रक्तदान कार्यक्रम, रक्तसमूह परीक्षण, स्वास्थ्य शिविर, मास्क र जीवनजल वितरण, साथै रक्तदान सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको ब्लड फर नेपाल देशव्यापी रूपमा सक्रिय रहँदै आएको छ।

संस्थाका सचिव भावानी साहका अनुसार अहिलेसम्म ४ हजार ३९३ जना रक्तदातालाई परिचालन गरिएको छ । `६ हजार ९८२ पिन्ट रगत संकलन गरी विभिन्न रक्तसंचार केन्द्रमा हस्तान्तरण गरिएको छ। साथै २४० वटा ‘रक्तका कुरा’ कार्यक्रममार्फत १ लाख ३५ हजार जनासम्म प्रत्यक्षरूपमा पुगिसकेका छौं,´उनले भने ।

सचिव साहका अनुसार, संस्थाले १ हजार ४२५ जनाको रक्तसमूह परीक्षण, १२८ जनाको मधुमेह जाँच, ८ हजार १०० जनालाई मास्क र ३ हजार ५०० जनालाई जीवनजल वितरण गरिसकेको छ।

विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै आएपनि आर्थिक चुनौती भने संस्थाका लागि मुख्य समस्या रहेको र आगामी दिनमा अझ धेरै सहकार्यको अपेक्षा राखेको कोषाध्यक्ष अर्चना झाले बताइन् ।

संस्थाका उपाध्यक्ष सन्तोष यादवले नयाँ पुस्तालाई अभियानमा जोड्न कलेज प्रतिनिधि, एसोसिएट सदस्यता र आजीवन सदस्यताको अवधारणा सुरु गरिएको जानकारी दिए। `युवालाई जोडेपछि संस्थाको गतिविधि अझ प्रभावकारी हुने विश्वास लिएका छौं,´ उनले भने।

कार्यकारी केन्द्रिय सदस्य मनिष भाद्रले रक्तदान कार्यक्रम, रक्तसेवा हटलाइन, स्वास्थ्य शिविर, रगतसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रममार्फत समाजमा सकारात्मक प्रभाव पार्न सफल भएको दावी गरे ।
`हामी देशका सबै प्रदेशमा पुगिसकेका छौं, गण्डकी प्रदेशमा भने प्रत्यक्ष टिम पुग्न बाँकी छ। तर त्यहाँका संस्थाहरूसँग सहकार्य गर्दै कार्यक्रम सञ्चालन गरिरहेका छौं,´ केन्द्रिय सदस्य अजय यादवले भने ।

अर्का सदस्य रामविनय यादव भन्छन्- `हाम्रो अभियान सामाजिक सञ्जालमार्फत देश–विदेशमा फैलिएको छ। सामाजिक सञ्जालमार्फत विश्वभर रक्तसम्बन्धी सन्देश फैलाउन सफल भएका छौं।´

देशभर रगत व्यवस्थापनका लागि सक्रिय यो संस्था स्वयंसेवकहरूको योगदानले चलिरहेको र यस अभियानसँग जोडिन पाउँदा गौरव महसुस गरेको वरिष्ठ सल्लाहकार क्षितिज कार्की बताउँछन ।

संस्थापक सरोज कुमार महतो भन्छन्, `रक्त अभाव अन्त्य गर्न अझ धेरै काम गर्न बाँकी छ। टिम, नेतृत्वकर्ता, रक्तदाता, सहयात्री र शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्छु। सबैको साथ बिना यो सम्भव हुने थिएन। आउनुहोस्, सँगै मिलेर देशभर रक्तसंवेदनशीलता फैलाऔं।´

ब्लड फर नेपालले सात वर्षको यात्रामा स्वयंसेवाभाव, सामाजिक उत्तरदायित्व र युवाको सक्रिय सहभागितामार्फत नेपालमा रक्त व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ।