

जनकपुरधाम, जेठ १९ गते ।
मधेश प्रदेशका आठवटै जिल्लामा बाढी, डुबान, आगलागी लगायतका प्रकृतिक प्रकोप एवं विपद्का जोखिम न्यूनीकरणका लागि सशस्त्र प्रहरी बल, नेपालले स्थानीय समुदायलाई लक्षित गरी स्वयंसेवक तयार पार्ने अभियान थालेको छ।
प्रत्येक वर्ष मनसुनसँगै बाढी, डुबान, चट्याङ, आगलागी लगायतका प्रकोपले मधेश प्रदेशमा ठूलो असर पार्ने गरेकोले यस क्षेत्रलाई उच्च जोखिमयुक्त मानिँदै आएको छ। यहीँ संवेदनशीलतालाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल मधेश प्रदेशका प्रमुख डीआईजी कृष्ण ढकालको अगुवाइमा जिल्लास्तरमै विपद् व्यवस्थापनमा सक्षम जनशक्ति उत्पादनको उद्देश्यले तालिम सुरु गरिएको हो।
डीआईजी ढकालका अनुसार हालसम्म रौतहटमा ३८, महोत्तरीमा २६ र सर्लाही, धनुषा तथा सप्तरीमा २५–२५ जना गरी १३९ जनालाई २१ दिने प्रारम्भिक तालिम दिइसकिएको छ। बाँकी रहेका बारा, पर्सा र सिराहा जिल्लामा पनि यहीँ वर्षभित्र थप २५–२५ जना प्रशिक्षित गर्ने तयारी भइरहेको छ।
“प्रकोपको पहिलो सामना गर्ने सामर्थ्य स्थानियहरूसँगै हुन्छ। जब त्यहीँ समुदायलाई तयार बनाइन्छ, त्यसबेला मात्र क्षतिको मात्रा घटाउन सकिन्छ ” ढकालले भने “हामी मानविय क्षति शून्य बनाउने लक्ष्यसहित अघि बढिरहेका छौं, जसमा समुदाय र सुरक्षाकर्मीको सहकार्य अपरिहार्य छ ।”
सशस्त्र प्रहरी र स्थानिय तहबीचको समन्वयमा सञ्चालन भइरहेको तालिमले उद्धार, प्राथमिक उपचार, सूचना प्रवाह र जनचेतनामूलक गतिविधिमा योगदान दिने जनशक्ति तयार पार्ने लक्ष्य राखिएको छ।
यसका साथै, सबै जिल्लाका पालिकाका वडाहरुमा सम्भावित प्रकोपको पूर्वसूचना दिन सक्ने गरी कम्तीमा २५–२५ जना विपद् सूचक समेत चयन भइसकेको सशस्त्र प्रहरी बलले जनाएको छ। सूचकहरुको सम्पर्क विवरण समेत संकलन भइसकेको र आवश्यक समन्वयमा रहेर कार्य अघि बढाइएको जनाइएको छ। यो अभियानबाट मधेश प्रदेशमा समुदायस्तरमै विपद् प्रतिकार्यमा दिगो पूर्वतयारीको आधार बन्ने अपेक्षा गरिएको छ।