जनकपुरधाम, जेठ १२ गते ।

जनकपुरको सडकमा खुला छोडिएका दुई साढेबीच लडाइँको क्रममा एकजना स्कुटी यात्रीको मृत्यु भएको छ ।

आइँतवार साँझ उपमहानगरपालिकाको वडा नम्बर ७ स्थित पेठिया बजार नजिक लडाइँ गरिरहेका साँढेले प्रहार गर्दा गम्भीर घाइते भएका जनकपुर उपमहानगरपालिका–७ बस्ने ४० वर्षीय मो. सतार राईनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश २–००७ प १२६६ नम्बरको स्कुटरमा सवार भइ उनी पेठिया बजारबाट पगलाबाबा धर्मशालातर्फ जाँदै थिए । सोही क्रममा दुर्घटना भएपछि गम्भीर घाइते भएका राईनलाई उपचारका लागि तत्काल जनकपुरस्थित जानकी हेल्थ केयरमा लगिएको थियो।

तर त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । जनकपुरधाममा खुला चौपायाका कारण यसअघि समेत सवारी दुर्घटनामा परि कैयन मानिस घाइते भएका थिए । तर खुला चौपाया नियन्त्रणमा उपमहानगरपालिकाले गम्भीरतापुर्वक चासो देखाएको छैन ।

उपमहानगरपालिकाका मेयर मनोज साहको गैर जिम्मेवारीपनले यात्रुलाई असुरक्षा बढेको भन्दै चौतर्फी उनको आलोचना भैरहेको छ ।