राजा झा

जनकपुरधाम, असोज २० गते ।

अकाशमा कालो बादल लाग्ने वित्तिकै सबैला नगरपालिका–१३ पटेर्वाकी कोशिला देवीको दौडधुप सुरु हुन्छ । ह्स्याङ–फस्याङ गर्दै बालबच्चा खोजी गर्न थाल्छन् । अनि खाद्यन्न र ज्यान जोगाउने इलम बारे सोच्न थाल्छिन् । वर्षाको सिजन उनी चिन्तित भएरै बस्नु पर्छ । कारण हो, किरतपुरँ छेउबाट कमला नदी बग्छ । कमला नदीमा पानीको बहाव बढेपछि कोशिलालाई निद्रा लाग्दैन् । किनभने कमला नदीले कौशिलाको चार विघा खेत मात्रै बगाएन भविष्य पनि बगाउने चिन्ता छ ।

पानी परेसँगै कमला नदीमा पानीको बहाव बढेपछि उनको डरको सीमा हुँदैन् । ‘कमलामा पानी बढेपछि लागिरहेको हुन्छ छर्की अब टु्टछ’, कमला नदी तर्फ हेराउँदै कोशिलाले भनिन्, ‘पानी बढेपछि अब छर्की टुटछ, अब टुटछ लागी रहेको हुन्छ । यो छर्की हेर्नुस र त्यो छर्की हेर्नुस् । यसबीचमा अथाह पानी हुन्छ ।’

कुनै समय ससुराको चार विघा जमिन रहेको सुनाउँदै कोशिलाले सबै खेतलाई कमला नदीमा आएको बाढीले काटेको बताइन् । उनले अहिले पुरै चार विघा खेत कमला नदीमा रहेको बताइन् । कमला नदीमा आएको बाढीले खेत काटेपछि ससुरालाई दुई कट्ठा घरारी मात्र रहेकोमा आफुहरुको अहिले एक कट्ठा रहेको बताइन् । उनले अहिले ८ जनाको घर परिवार रहेकोमा दैनिक रुपमा अरुको खेतमा काम गरेपछि घर परिवार चलिरहेको बताइन् । उनले आफ्नो खेत ४ विघा रहेपनि त्यो अहिले कुनै कामका नरहेको भन्दै भनिन्, ‘हाम्रो जमिन नदीमा गएपछि तर्बुजहरु गरेको थिए । दुई तीन वर्षदेखि त्यो पनि गरिहरकेको छैन् ।’

कमला नदीमा पानी बढेपछि त्यसको आवाज घरसम्मै पुग्ने गरको भन्दै उनले भनिन्, ‘नदीमा बाढी आएपछि यसको आवाज घरसम्मै पुग्छ । निद्रा लागिरहेको हुँदैन् लागिरहेको हुन्छ फेरि बाँध टुटछ की ?’
कमला नदीका बाढीले कोशिलाको मात्र होइन, पटेर्वा र किरतपुरका धेरै किसानहरूको जिन्दगीमा ठूलो असर पु¥याएको छ । बाढीले खेत र जमिनको उत्पादकता गुमाएको छ, जसले गर्दा उनीहरूलाई आफ्नो जिविकोपार्जनका लागि अरूको खेतमा काम गर्न बाध्य बनाएको छ। कमला नदीको किनारमा बस्ने परिवारहरू वर्षा सुरु भएपछि नदीको छर्की टुट्ने डरले सताइरहेका हुन्छन्। यो डर मात्र मनोवैज्ञानिक होइन, भौतिक रूपमा पनि उनीहरूको जीवनमा ठूलो असर गर्छ ।

किरतपुरका लालबाबु यादवको खेतपनि नदीको किनारमै छ । उनी अहिले खेतमा विभिन्न जातिका धान लगाएका छन् ।
तीन वर्षअघिसम्म ६ बिघा जमिन रहेकोमा उनको दुई बिघा खेतलाई नदीमा आएको बाढीले बर्बाद गर्यो । तीन वर्षअघि कमला नदीको छर्की टुटेर गाउँमै पानी पसेपछि नदीकै किनारमा रहेको उनका ६ बिघा जमिनमा पानी पसेको थियो । जसमा दुई बिघा जमिन नदीमै समाहित भयो । बाँकी खेतमा पनि बालुवा बढेपछि लाखौँ रुपैयाँ खर्च गरेर पुनः उब्जाउ हुने बनायो ।
लालबाबुले भने, ‘नदीको छर्की टुटेपछि खेतमा बालुवा नै बालुवा भएको थियो । बालुवा हटाउन करिब २ लाख खर्च गरे ।’
‘छर्की टुटेको वर्ष साउन महिनामा खेतमा धान रोप्दै थिए । धेरै क्षेत्रफलमा रोपाइसकेको थियो बाँकीमा रोप्ने काम भइरहेको थियो’, उनले भने, ‘रातिमा बाढी आयो । सबै खेत पानीले डुब्यो । खेतमै नदी बगिरहेको थियो ।’

कमला नदीमा आएको बाढीले खेतमा बालुवा भरेपछि डोजर जेसिबी लगाएर खेतलाई ठिक गरेको बताए ।
‘अहिले बाढी आएपछि धेरै डर लागिरहेको हुन्छ । वर्षाभएपछि बाँध भत्किन्छ, नदीले अगाडि फेरी धेरै छर्कीलाई काटेको छ । यो वर्ष धेरै कम पानी आएको छ त्यसैले केही भएन । बढी पानी आएको भए फेरी धेरै छती हुन्थ्यो’, उनले भने ।

पछिल्लो पटक बाँध टुटेपछि पुरै हतास भएको भन्दै लालबाबुले बाँस, सिसो काटेर बाँधलाई बँचाएको स्मरण गर्दै उनले भेन, ‘जुन राति बाँध कटान भएको थियो त्यो दिन करिब २ सय युवाहरु बाँध बँचाउनमा लागेका थिए । पुरै धार यो भित्ता भएर नै चलिरहेको थियो, जब बाँध टुट्यो ।’ २०७८ साउनमा आएको बाढीले किरतपुर र ढोलबाजा गाउँको मात्रै ५० विघा खेत कमला नदीले कटान गरेको थियो । सबैला नगरपालिका–१३ किरतपुर र ढोलबाजाको बीचमा पर्ने बाँध भत्काएर डेढ सय मिटर पूर्व बग्ने कमलाले धार परिवर्तन गरेपछि स्थानीय किसान चिन्तित छन् ।

ढोलबाजा र किरतपुर बीचमा ४ सय, सोही नगरपालिकाको वडा नम्बर १२ पटेर्वामा तीन सय मिटर बाँध भत्किएको थियो ।
किरतपुरकै ७० वर्षीय वृद्ध एक दशक अघि कमला नदीको बाँध टुट्दा गाउँनै डुवानमा परेको सम्झन्छन् ।
उनी भन्छन्, ‘करिब १३ वर्षअघि कमला नदीको बाँध टुटदा यस्तो लागि रहेको थियो जस्तो गाउँमै नदी चलिरहेको छ । पुरै गाउँ डुवानमा परेको थियो ।’
उनले सो समय टोलकै नजिकमा रहेको पर्साही चौक स्थित स्कुल भएको ठाउँमा धेरै जनाले सर्ने सोँचे । धेरैजनाले खेत पनि लिए ।

स्थानीय रामकुमार महतोले बाँध टुटेको समयमा आफुपनि खटेको स्मरण गर्दै भने, ‘जोखिम अहिलेपनि छ । टुटेको भन्दा डेढ दुईसय मिटर दक्षिण फेरि टुटने अवस्था छ । अहिले त्यो वर्षपछि त्यसतो बाढी नै आएको छैन् त्यसैले केही भएको छैन् ।’
यसको रोकथामका लागि अहिले सकरकारद्वारा कुनै पहल नभएको महतोले बताए । उनले टुटेको वर्ष सरकारले सहयोग गरेपनि त्यसयता रोकथामको लागि कुनै सहयोग गरेन ।

कमला नदीको बाढीका समस्या दीर्घकालीन रहेपनि यसको समाधानका लागि सरकारले ठोस कदम नचालेको स्थानीयहरूको गुनासो छ। बाँधको स्थिति सुधार्नका लागि कुनै प्रयास नभएको र स्थानीयलाई सरकारबाट दीर्घकालीन योजना नदिइएको गुनासो छ । रामकुमार महतोका अनुसार, बाँध टुटेको बेला सरकारले सहयोग गरे पनि त्यसपछि कुनै प्रयास भएको छैन । अहिले पनि जोखिम छ, तर समाधानका लागि कुनै पहल छैन । कमला नदीको किनारमा रहेको किरतपुर, पटेर्वाका सयौँ घरपरिवार प्रत्येक वर्ष वर्षा याम सुरुभएसँगै त्रासमा बस्ने गरेका छन् ।

यता, मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले भने बाढीले धार परिवर्तन गर्दा जग्गा बगरमा परिणत भएको बताउँदै यसको दीर्घकालीन समाधानको आवश्यकता रहेको स्वीकार गरेका छन् । उनले कमला नदीको किनारका जग्गालाई कृषिमा अधिकतम उपयोग गरी किसानको जीवनस्तर उकास्न एकीकृत कृषि विकास परियोजना प्रस्तावित गरेको जानकारी दिए । मुख्यमन्त्री सिंहका अनुसार, यस परियोजनाले कृषि र पर्यटनलाई जोडेर स्थानीय अर्थतन्त्रमा सुधार ल्याउने लक्ष्य राखिएको छ। तर, यो परियोजना कति प्रभावकारी हुनेछ र कहिलेसम्म कार्यान्वयनमा आउँछ भन्ने स्पष्टता छैन ।