रिंकु मिश्र
जनकपुरधाम, असोज १ गते ।
धनुषाको सबैला नगरपालिका १४ पटेर्वा गाउँका बासिन्दाहरू वर्षा लागेपछि चिन्तामा हुन्छन् । कमला नदीको सुसेलीले गाउँलाई सताउँछ । बिगतका बाढीले दिएको त्रास अझै पनि ताजै छ । यस कारण कमला नदीको बाढी सुसेलेको आबाजले वस्तीकी गंगिया सदालाई रातभर निन्द्रा लाग्दैन ।
“ठूलो बाढी आउँदा राति निन्द्रा आउँदैन । बाढीको आवाज यहाँसम्म आइपुग्छ । कुनै दिन त बस्ती नै बगाएर लैजाने हो कि भनेर डर लाग्छ? ” गंगिया सदा सुनाउँछिन् ।
तीन वर्षअघि आएको भीषण बाढी पटेर्वा स्थित कमला नदीको बाँध भत्कायो । पटेर्वा बस्तीका केही घरहरु डुबानमा परेको थियो । डुबानमा परेका घरमा अन्नपात लत्ता कपडा भिज्यो । फुसका केही घरको भित्ता लडखडायो । त्यो क्षण सम्झिदा वस्तीकी सुकन देवी सदा झस्किन्छन् । ‘बाढी वस्ती छिरेपछि छिमेकीको घर पानीमाले डुबेको थियो । मानिसहरू भागाभाग भयो । गाउँलेहरु हतारहतार बाँध बाँध्न पुगेका थिए । बल्ल तल्ल गाउँ बचेको थियो’ सुकन देवी सम्झिन्छन् ‘बाढी हहाएपछि डर लाग्छ । कति रात त निन्द्रा नै आउँदैन । तर हामी गरिब मान्छे । कहाँ जाने रु’उनी भन्छिन्।
बाढी बाँध भत्काएर वस्ती छिरेको सम्झना गर्दा स्थानीय जगदीश यादवको मनमा त्रास छाउँछ । अहिले पनि बाँध कमजोर भएको लागेर उनको मनबाट कमला नदीको डर भागेको छैन ।
“कमला नदीको बाँध राम्ररी बाँधिएको छैन । कमजोर बाँध टुटछ । बाढी गाउँ पस्छ । खतरा छँदैछ’ उनी भन्छन् । सम्बन्धित निकायले जनताको आबाज नसुनेको उनको गुनासो छ । ‘जनताको आवाज कसले सुन्छ रु जब बाढीले छड्की बगाउँछ, त्यतिबेला मात्रै नेता अधिकारीहरु निरीक्षण गर्न आउँछन्’
स्थानीय जगतविराजी यादवले भने बाँध मजबुत गरि बाँधेको बताउँछन् । ठूलो बाँढीबाट पनि अब बाँधलाई खतरा नरहेको उनको भनाइ छ । “पाँच फिट तलबाट सिमेन्ट, बालुवाको जग उठाएर माथि जालीबोल्डर गरि तटबन्ध भएको छ । त्यस कारण बिगतको जस्तो खतरा मलाई लाग्दैन” जगविराजी भन्छन् । तर उनको भनाइमा विश्वास गर्नेहरू थोरै छन् ।
वस्तीका धनिकलाल सदा कमलाको जोखिम कायमै रहेको बताउँछन् । उनले बिगतमा डुवान भएका ठाउँ देखाउँदै भने ‘यो घरहरु पानीले डुबेको थियो । अहिले पनि बाँध कमजोर नै छ । ठूलो बाढीबाट खतरा अझै छ वस्तीलाई । तर हाम्रो कुरा सुन्ने कसले रु’ धनिकलाल गुनसो गर्छन् ।
वडाध्यक्ष यादव भने बाँधको स्थितिले अहिले कुनै जोखिम नरहेको दावी गर्छन् । “तीनवर्षअघि बाँध भत्किएको थियो । तर त्यसपछि मर्मत गरेर तटबन्ध बलियो बनाइएको छ’ उनी विश्वासको साथमा भन्छन् । तर, उनको भनाइमा स्थानीयहरु ढुक्का देखिँदैनन् । कमला नदीको बाढीले नदी छेउमा बसोबास गर्ने स्थानीयमा त्रासदीको वातावरण यथावत छ ।
बाढीले वस्तीलाई त जोखिम छ नै, पुल नहुँदा पारी सिरहा जानआउन स्थानीयले जोखिमको सामना गर्नु परेको छ । स्थानीय विराजी यादवका अनुसार गत असार महिना डुंगामा मोटरसाइकल राखेर बाढी तर्दै सिरहाबाट आउँदै डुंगा पल्टेको थियो । जसमा दुईवटा मोटरसाइकल बगायो । झण्डै त्यसमा सवार मानिसहरुको उद्धार गरेपछि बाँचे । मोटरसाईकल र्दुइकिलोमिटर तल भेटियो ।
सहज आवतजावतका लागि कमला नदीमा पछिल्लो समय पुल निर्माण भइरहेको छ । जसको गत चैत महिनामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले शिलान्यास गरेका थिए । वडाध्यक्ष यादव तटबन्ध बलियो र अब वारपार हुन पुल निर्माण भइरहेकाले जोखिमहरु क्म हुँदै जाने बताउँछन् ।
‘पहिला धेरै जोखिम थियो । अब तटबन्ध बलियो बन्यो । पुल निर्माण भइरहेको छ । अब बिगत जस्तो समस्या हुन्न होला’ वडाध्यक्ष यादव भन्छन् ।
सबैला नगरपालिकाका मेयर कारीराम यादव पटेर्वामामा मजबुत बाँध बाँधिएको बताए । कमला नदीमा पुल बन्न लागेकाले अब पहिलो जस्तो जोखिम नहुने उनको विश्वास छ ।
‘पहिले जस्तो जोखिम पटेर्वामा छैन । त्यहाँ राम्ररी बाँध निर्माण गरिएको छ । अब कमला नदीमा पुल पनि बन्न लागेको छ । यधपी कतै जोखिम जस्तो छ भने पुनः बाँधलाई मजबुत पार्ने काम गर्छौं’ मेयर यादवले भने ।