जनकपुरधाम, साउन १७ गते ।
समाजिक परम्परा मान्दै परिवारले १४ वर्षको कलिलै उमेरमा नीतु झाको विवाह गराइदिए । पढेर आत्मनिर्भर बन्ने उनको सपना थियो । तर ९ कक्षामै पढिरहँदा जलेश्वर नगरपालिकाको नैन्ही गाउँमा उनको विवाह भयो । विवाहसँगै उनले बुनेका सपना तुहियो ।
वैवाहिक जिवन पनि नीतु र उनको परिवारले सोंचेजस्तो राम्रो भएन् । रक्सीले मातिएर उनको श्रीमानले दिनदिनै कुटपिट गर्न थाले । विवाह भएको केही दिनमै परिवारले उनलाई घरबाटै निकालदिए । ‘जेठी छोरी पेटमा थिइन । त्यहीँ बेला मलाई घरबाट सबैले निकालदिए । त्यतीबेला धेरै रुए । धेरै चित्त दुख्यो । मलाई निकालदिएपछि म माइत आएर बस्न थाले,’ उनले सुनाइन ।
उनै नीतुले संघर्ष गर्दै आफ्नी छोरीलाई स्टाफ नर्स पढाएकी छिन । दुई जना छोरालाई समेत उनी एक्लै पढाइरहेकी छन । छोरी पढाउनमै १५ लाख रुपैयाँ खर्च भएको उनी बताउँछिन । तर उनले यो मुकाम सहजै हाँसिल गरेकी होइनन् । यो सुखद कथाको पछाडी ठूलो संघर्षको व्यथा लुकेको छ । करिब २० वर्षअघि छोरी जन्मेपछि उनी केहीदिन आफु र सन्तानको पालनपोषण कसरी गर्ने भन्ने चिन्तामा डुबिन । उनी हार मानिनन् ।
आत्मनिर्भर बनेर छोरीलाई पालनपोषण गर्ने भन्दै उनले कम्मर कसिन । माइतबाटै उनले महोत्तरीको पिपरा गाउँपालिका स्थित चाँदनी चोकमा सिलाईको काम सिकिन् । त्यसले उनले सहजै आफु र छोरीका लागि पुग्नेजति पैसा कमाउन थालिन् । लगतै दुईजना छोरा भएपछि सबैलाई उनले राम्रो शिक्षा दिने निधो गरिन । उनी गाउँबाट जनकपुर आइपुगिन ।
जनकपुरधाम उपमहानगरपालिक‒८ स्थित दशरथ तलाउ नजिक पुरानो खपडा हालेको एक घरमा नितु झा बस्छिन । विगत ९ वर्षदेखि उनी त्यहीँ घरमा दुईवटा कोठा भाडामा लिएर बस्छिन । त्यहीँबाट उनले छोरीलाई स्टाफ नर्स पढाएकी हुन । केहीदिन अघि नर्स पास गरिसकेकी उनी अहिले लाइसेन्सको परिक्षाको तयारीका लागि काठमाडौं गएकी छन ।
‘मैले धेरै दुःख गरे । मजस्तै उनी पनि त अरुका घरमा जान्छन । उसलाई मजस्तै दुःख हुनुभएन भनेर पढाए । भोलिका दिनमा घरपरिवारले हेरेन भनेपनि उनी अब मज्जाले कमाएर खान सक्छिन,’ नीतुले भनिन । छोरीले नर्सको लाइसेन्स परिक्षा पास गरिसकेपछि मिठाइ बाँड्ने उनले योजना सुनाइन । सरकारले समस्यामा परेकी र दुःख झेलिरहेकी महिलाले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
‘परिवारमा कतिपयलाई धेरै मारपिट गर्छन त्यो हुनुभएन । घरबाटै निकालदिन्छ त्यस्तो अवस्थामा महिला कहाँ जान्छ ? जो पढेका छन उसले केही उपाय पनि खोजिहाल्छ जो पढेको छैन उ कसरी बाँच्छ, छोराछोरी पाल्छ ? यो समस्याहरु सरकारले हेरदिनुपर्यो,’ उनले थपिन् ।