दिवेश कुमार महतो

जनकपुरधाम, साउन१७ गते ।

देशव्यापी रुपमा अहिले जलवायु परिवर्तनको मुद्दाले चर्चा पाएको छ । चर्चा हुनु पनि स्वभाविक हो किनकी देशमा अहिले जलवायु परिवर्तनकै प्रभावका कारणले कहिले निकै धेरै तापक्रम बढ्छ भने कहिल्यै खडेरी नै पर्छ । नेपालमा जलवायु परिवर्तनको कारणले पछिल्लो समय भएको तापक्रममा वृद्धिले जनताले पनि अकल्पनीय पीडा र नोक्सानी बेहोर्नु परेको छ । यो एउटा उदाहरण मात्र हो । जलवायु परिवर्तनले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा समाज ,वन जङ्गल,पानी,माटो लगायत समग्र प्रकृतिमा नै हानी नोक्सानी पुर्याइरहेको छ।

यसको नियन्त्रणका लागि प्रयास भने नभएको होइन तर ती प्रयासहरु कागजमै सिमित छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूले जलवायु क्षेत्रमा काम गरिरहेका छन् भने नेपालमा युवाहरुको भुमिका पनि सराहनीय देखिन्छ । जलवायु संरक्षणमा लागेका युवाहरुले विभिन्न तरिकाबाट आमजनसमुदाय र सरकारलाई सन्देश दिई रहेका छन्। हालै भक्तपुरको भारिपटीमा साउन ११ गतेदेखि १३ गतेसम्म ९औं नेसनल युथ कन्फरेन्स अन क्लाइमेट चेन्ज सम्मेलनबाट देशभरिका नेपाली युवाहरूले जलवायु कार्यमा सबै युवाहरुको एक्यबद्धता आवश्यक रहेको सन्देश दिएका हुन्।

नेपलिज युथ फोर क्लाइमेट एक्सन नामँक संस्थाले आयोजना गरेको ९ औँ नेसनल युथ कन्फरेन्स अन क्लाइमेट चेन्ज सम्मेलनमा देशभरिबाट ५० भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो। सम्मेलनबाट युवाहरुले आ आफ्नो ठाउँमा जलवायु परिवर्तनले पारेको प्रभाव लगायतका विषयहरुमा गहन छलफल र विचार विमर्श गरेका थिए।

उनीहरुले जलवायुको मुद्दामाथि छलफल मात्र गरेनन्, संघीय सरकारलाई खबरदारी पनि गरे । सोही सम्मलेनमा युवाहरुसँग सहकार्य गर्न आएका वन तथा वातावरण मन्त्रालयका सचिव राजु सापकोटाले युवाहरुको जोश ,जाँगर र उमंगको प्रशंसा गरे । युवाहरुले भने जलवायुको मुद्दामा प्रश्न गरेर सचिवलाई हैरान पारे । एकछिन् को लागि प्रश्नोत्तरले महौल नै तातियो । जलवायु परिवर्तनले निम्ताएको समस्या र सरकारले ल्याएको नीतिमा केन्द्रीत रहेर युवाहरुले प्रश्न गरेका थिए। सरकारले विधुतीय गाडीमा बढाएको कर, चार्जिङ युनिट र क्लाइमेट फाइनान्स मुदामा सवाल गरेका थिए।


दुई शक्ति राष्ट्रबीच रहेको नेपाल जलवायुजन्य संकटको उच्च जोखिममा रहेको क्षेत्र हो । नेपालमा बर्सेनि जलवायुजन्य विपदबाट मर्ने, विस्थापित हुने, आफन्त गुमाउने र अंगभंग हुनेहरूको संख्या बढ्दै गएको छ । छिमेकि राष्ट्रहरूले वातावरण प्रदुषण पार्ने र त्यसको प्रभाव नेपालमा देखा पर्ने कुरा छताछुल्ल भएकै छ। यता वैदेशिक राष्ट्रहरु भने जलवायु कार्यमा काम गर्न आर्थिक फाइनान्स दिएर काम गर्न लगाउने अर्थात् म फोहर गर्छु , प्रदुषण गर्छु ,तिमीहरु चुइँक्क बोल्न पाउँदैनौ, पैसा लेउ र काम गर भन्ने भाष्य समेत निर्माण हुन थालेको भन्दै सहभागी युवाहरुले सरकारका प्रतिनिधिलाई प्रश्न गरेका थिए।

सरकारले विधुतीय चार्जिङको कुरा पनि गर्ने र एकाथरी भारतबाट डिजेल पेट्रोल ढुवानी गर्न पाइप पनि ओछ्याने काम गरेकोमा सरकारको दोहोरो नितिले विकास निर्माणका कार्यमा पनि अस्थिरता ल्याएको बारे भाष्य निर्माण समेत भएको थियो। राजनीतिक अस्थिरताले झन विकास निर्माणका कार्यमा बाधा पुर्याएको छ। यसले समेत समयमा विकास निर्माण कार्य सम्पन्न नहुँदा प्राकृतिक दोहन भईरहेकोू सम्मलेनमा सहभागी एक युवाले भने ।

सम्मेलनमा युवाहरुले स्थानिय जनताहरूलाई भेटेर , त्यहाँका समस्या बारे स्थानिय सरोकारवाला निकायका जिम्मेवार व्यक्तिलाई समेत जवाफदेहि बनाएका थिए। उनीहरुले चाँगुनारायण नगरपालिका भक्तपुरका स्थानिय किसान र व्यापारीलाई भेटेर, उनीहरुको समस्या टिपोट गरी ,त्यसको समाधान का उपायहरू बताउदैं चाँगुनारायण नगरपालिका लाई समेत ध्यानाकर्षण गराएका थिए। सम्मलेनमा सहभागी भएका चाँगुनारायण नगरपालिका भक्तपुरका वास कोडिनेटर सुरेन्द्र लामिछाने का अनुसार भक्तपुर मा ६२ वटा ईटा भठ्ठा मध्ये ५२ वटा चाँगुनारायण नगरपालिकामा मात्र रहेकोले वातावरणमा प्रतिकुल असर पारिरहेको कुरा बताएका थिए । उनका अनुसार चाँगुनारायण नगरपालिकाको योजना प्रकियामा युवाहरुको सहभागीताले नगरपालिकाको मुहार फेरिएको बताएका थिए।

सम्मलेनमा सबै क्षेत्रका युवाहरूको सहभागीता रहेको थियो। कृषि,विज्ञान, फोरेस्टी,कानुन, स्वास्थ्य, मानविकी लगायतका क्षेत्रमा अध्यनरत रहि वातावरण संरक्षणका लागि विभिन्न तरिकाबाट काम गरिरहेका युवाहरुलाई सहभागी गराइएको थियो। युवाहरुले सरकारलाई प्रश्न मात्र गरेनन्, उनीहरुले मानव भित्रको कमिकमजोरी पनि औँल्याए । सरकारले एक्लै चाहेर पनि जलवायुको मुद्दामा काम गर्न नसक्ने उनीहरुको निचोड रहेको थियो। सम्मेलनमा आयोजक संस्थाले वातावरण संरक्षणका उपायहरू, नागरिक विज्ञान,हावा र पानीको अवस्था बारे धेरै कुराहरु सिकाएका थिए।

पुर्व मेची देखि पश्चिम महाकाली सम्मका युवाहरुले जलवायु कार्यमा कसरी जुटेको र कसरी कार्य गरिरहेकोबारे सबैले आ आफ्नो कथा सुनाएका थिए। आयोजक संस्थाले समुह कार्य , सञ्चार सिप, डिजिटल एड्भोकेसी बारे प्रशिक्षण दिएका थिए। जलवायु परिवर्तन विषयसँग सम्बन्धित मुदाहरुमा केन्द्रीत रहेर संवाद र अन्तरक्रिया कार्यक्रम समेत गरेका थिए। सम्मेलनमा सहकार्य गर्न स्लोभेनिया राष्ट्रका वातावरण अधिकारकर्मी ,पत्रकारको समेत सहभागिता रहेको थियो।

यसरी देशभरि बाट युवाहरुको जमघटले जलवायु कार्यमा राज्य मात्र जिम्मेवार नभएर मानव पनि उत्तिकै जिम्मेवार रहेको कुरा युवाहरुको ठम्याइ थियो। मानविय कृयाकलापले नै वातावरण माथि हानी नोक्सानी पुर्याएकोले युवाहरुको समुह एक्यवद्धता भई जलवायु कार्यमा सकरात्मक हुनेपर्नेमा जोड दिइएको थियो।

नेपलिज युथ फोर क्लाइमेट एक्सन नामँक संस्थाले विसं २००८ सालदेखि नेसनल युथ कन्फरेन्स अन क्लाइमेट चेन्ज सम्मेलन गराउदैं आएको छ। सबै नेपाली युवाहरूलाई जलवायु कार्यमा एक्यबद्धता गर्ने , वातावरण संरक्षणका लागि जनचेतना जगाउन कै लागि यो सम्मेलनको आयोजना हुदै आएको छ। देशभरिका युवाहरु एक ठाउँमा आएर काम गर्ने अनुभव एकआपसमा साटासाट गर्दा काम गर्ने क्षेत्रमा व्यापकता आउने र सञ्चार क्षेत्रमा विकास पुग्ने उदेश्यले यो सम्मलेन हुदै आएको नेपलिज युथ फोर क्लाइमेट एक्सनका वर्तमान संयोजक अञ्जली साई चालिसेले बताइन् ।

विभिन्न संघसंस्थाहरुको सहयोगमा जलवायु परिवर्तन सम्बन्धी सबै भन्दा ठुलो दुई वर्षे राष्ट्रिय युवा सम्मेलन गर्दै आएको र हरेक दुई वर्षमा हुने सम्मलेनले युवाहरुलाई प्रेरित गर्दै जलवायु परिवर्तनलाई मुख्य मुदा बनाएर काम गरिरहेको उनले बताइन । जलवायु परिवर्तनको कुरा गरि रहँदा नेपालले केही नगरेको भने होइन । गत वर्ष मात्र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसलाई नेपाल भ्रमणको निम्तो दिई सोलुखुम्बुको स्याङ्बोचेबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको अवलोकन गराउनुका साथै त्यस सेरोफेरोमा अवस्थित हिउँविहीन काला पत्थरका हिमालको अनुभूतिसमेत गराइएको थियो ।

जसको परिणामस्वरूप दुबईमा भएको कोप–२८ मा उनले तापक्रम वृद्धिकै कारण हिमालयन देशहरूले भोगिरहेको समस्यालाई आफ्नो वक्तव्यमा समावेश गरिदिँदा त्यस सम्मेलनका सहभागीहरूलाई अनुभूत गराउन नेपाल जस्ता देशका लागि मद्दत पुगेको थियो । यता अहिले जलवायु परिवर्तनको कारणले नेपालमा भारी वर्षा भइरहेको छ । जसका कारण उच्च पहाडी र मध्य पहाडी क्षेत्रमा बाढी, पहिरो गइरहेको छ भने तराईमा डुबान भइरहेको छ । अहिले ठूलो मात्रामा भौतिक तथा मानवीय क्षति पुगिरहेको छ । पहिरोबाट सडकहरू बिग्रिरहेका छन् भने हालै मात्र पहिरोले दुई वटा यात्रु बसहरू बगाएर त्रिशूलीमा खसालिदिएको छ । जहाँ दुबै बसमा रहेका कुल ६५ यात्रुमध्ये ३ जना हामफालेर बाँचेका थिए । जसमध्ये २५ जनाको शव भेटिएको छ भने ३७ यात्रु अझै बेपत्ता छन् । खोजीमा आएका आफन्त पनि केही उपलब्धि नभएपछि निराशा हुँदै घर फर्किएका छन् । उध्दार कार्यमा जुटेका सबै संयन्त्र फेल भएपछि भारतिय टोली पनि फर्किएको छ।

अत स् जलवायु परिवर्तनलाई अहिले पनि विदेशीको मुद्दाका रूपमा हेर्ने गरिएको छ । विदेशीले रकम दिए मात्रै काम गर्ने हो भन्ने मानसिकताले यसका जोखिमहरूलाई पन्छाइएको छ । यसले दिर्घकालिन रुपमा प्रभाव पार्ने निश्चित छ। नेपाललाई आगामी पुस्ताका लागि नेपालमा बस्नलायक बनाइ राख्ने हो भने जलवायु परिवर्तन हामी सबैको प्रमुख मुद्दा बन्नुपर्छ । र यसका लागि सरकारलाई पनि उतिकै जवाफदेहि बनाउनु जरुरी छ। हिमालमा पर्ने असरबाट चीन र भारतसँगै तल्लो तटीय क्षेत्रका अन्य देशहरू पनि प्रभावित हुने हुँदा समस्या समाधानका लागि अन्तरदेशीय एकीकृत प्रयास हुनु जरूरी छ र यस्तो प्रयासमा हामी नै अगाडि हुनुपर्छ।