आर झा

जनकपुरधाम, साउन १६ गते ।

मधेस प्रदेशमा वर्षेनी ५ सयभन्दा बढी व्यक्तिले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेका छन्। गत वर्ष प्रदेशको विभिन्न जिल्लामा सवारी दुर्घटनामा परेर ५ सय ३० जनाको मृत्यु भएको प्रहरीले जनाएका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआइजी) दानबहादुर कार्कीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ६ हजार ५८ वटा सवारी दुर्घटना हुँदा ५३० जनाको मृत्यु हुँदा २ हजार २४९ जना गम्भीर घाइते भएका छन्। यस्तै, सोही दुर्घटनामा परेर ७ हजार ४९६ जना साधारण घाइते भएको उनले जानकारी दिए।

प्रवक्ता कार्कीका अनुसार गत आवमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेको हो। गत वर्ष ८ हजार ५२९ वटा सवारीको दुर्घटना हुँदा सबैभन्दा बढी मोटरसाइकलको दुर्घटना भएको हो। गत वर्ष ५ हजार ९२६ वटा मोटरसाइकल दुर्घटनामा परेको हो।

यस्तै, ट्रक टेकंर २०२, टिपर ५१, डोजर, लोडर, स्काभेटर १२, बस १८५, माइक्रो ५१, जीप, कार ५८२, ट्याक्टर ३०२, टेम्पो ४६७, शा.स.चल्ने ७१४ र अन्य ३७ वटा सवारी दुर्घटनामा परेको प्रहरीको तथ्यांकमा उल्लेख छ।

आर्थिक वर्ष २०७९/८० मा ५ हजार ९८८ वटा सवारी दुर्घटना हुँदा ५४६ जनाले आफ्नो ज्यान गुमाएका थिए। यस्तै, सो दुर्घटनामा परेर २ हजार २ सय जना गम्भीर घाइते भएका थिए भने ७ हजार ४७२ जना सामान्य घाइते भएका थिए।

आर्थिक वर्ष २०७८/७९ मा ५ हजार ७११ वटा सवारी दुर्घटना हुँदा ५८५ जनाको मृत्यु भएको थियो। यस्तै, सो दुर्घटनामा परेर २ हजार ५०९ जना गम्भीर घाइते भएका थिए भने ६ हजार ९५५ जना सामान्य घाइते भएका थिए।

यस्तै, आव २०७७/७८ मा ३ हजार ९८३ वटा सवारी दुर्घटना हुँदा ५२३ जनाको मृत्यु भएको थियो। सो दुर्घटनामा परेर १ हजार ९३० जना गम्भीर घाइते भएका थिए भने ४ हजार ७४ जना सामान्य घाइते भएका थिए।

आव २०७६/७७ मा १ हजार ३४० वटा सवारी दुर्घटना हुँदा ४२० जनाको मृत्यु हुँदा ९०५ जना गम्भीर घाइते भएका थिए। यस्तै, सो दुर्घटनामा परेर ९६२ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांक छ।

पाँच आर्थिक वर्षमा मधेस प्रदेशमा २३ हजार ८० वटा सवारी दुर्घटना भएकोमा २ हजार ६०४ जनाले आफ्नो ज्यान गुमाउँदा ९ हजार ७९३ जना गम्भीर घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी कार्कीले बताए।

देशभर २२ हजार ९२७ वटा दुर्घटना, २ हजार ३६९ जनाको मृत्यु

गत आवमा देशभर २२ हजार ९२७ वटा सवारी दुर्घटना हुँदा २ हजार ३६९ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। आव २०८०/८१ मा भएको दुर्घटनामा कुल ३५ हजार ४०४ वटा सवारी साधन संलग्न रहेको थियो। सो दुर्घटनामा परेर ६ हजार १६० जना गम्भीर घाइते भएका थिए भने २५ हजार ९९६ जना सामान्य घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी कार्कीले बताए।

आव २०८०/८१ मा काठमाडौं उपत्यकामा सबैभन्दा बढी सवारी दुर्घटना भएको छ भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम दुर्घटना भएको हो।

काठमाडौं उपत्यकामा ८ हजार ८८१ वटा सवारी दुर्घटना हुँदा १७६ जनाको मृत्यु भएको थियो । यस्तै, २९१ ज्ना गम्भीर घाइते हुँदा ८ हजार १४ जना सामान्य घाइते भएका थिए।

कोशी प्रदेशमा ३ हजार ५६३ वटा सवारी दुर्घटना हुँदा ३९७ जनाको मृत्यु हुँदा ८२६ जना गम्भीर घाइते भएका थिए ।
मधेस प्रदेशमा ६ हजार ५८ वटा सवारी दुर्घटना हुँदा ५३० जनाको मृत्यु भएकोमा २ हजार २४९ जना गम्भीर घाइते भएका थिए ।
बागमती प्रदेशमा १ हजार ५३४ वटा सवारी दुर्घटना हुँदा ३१३ जनाको मृत्यु भएको र ७१३ जना गम्भीर घाइते भएको प्रहरीको तथ्यांक छ।

गण्डकी प्रदेशमा ३९५ वटा दुर्घटना हुँदा १७७ जनाको मृत्यु भएको र ३१२ जना गम्भीर घाइते भएको प्रहरीले जनाएका छन्।
लुम्वीनी प्रदेशमा १ हजार १२० वटा दुर्घटना हुँदा ४९५ जनाको मृत्यु भएको थियो। यस्तै, १ हजार १७ जना गम्भीर घाइते हुँदा ६७७ जना सामान्य घाइते भएका थिए।

कर्णाली प्रदेशमा ३०८ वटा सवारी दुर्घटना हुँदा ११० जनाको मृत्यु भएको र २६७ जना गम्भीर घाइते भएको प्रहरीको तथ्यांक छ।
सुदूरपश्चिम प्रदेशमा ३०८ वटा दुर्घटना हुँदा १७१ जनाको मृत्यु हुँदा २६७ जना गम्भीर घाइते भएको प्रहरीको तथ्यांक छ।