जनकपुरधाम, साउन १५ गते ।

भारतको केरलमा पहिरो जाँदा अहिलेसम्म ५४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना नेपाली समेत रहेका छन ।

मंगलबार बिहान केरलको वायानड जिल्लामा पहिरो जाँदा ५४ जनाको मृत्यु भएको भारतीय संचारमाध्यम आजतकले जनाएको छ ।

पहिरोमा परि एक सयभन्दा धेरै दबिएको समेत बताइएको छ । केन्द्रीय र प्रदेशीय सरकारले खोजी तथा उद्धारको काम अघि बढाएको छ।

भारतीय संचारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार थोन्दरनाड गाउँमा बसिरहेका नेपाली परिवारका एक वर्षीय बालकको मृत्यु भएको हो ।
केरलमा मंगलबार दिउँसो पनि भारी वर्षा भइरहेको छ।

केरल राज्य विपद व्यवस्थापन, सेना लगायत विभिन्न उद्धारकर्मीको टोली पनि खटिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परी ज्यान गुमाएकाहरूको परिवारलाई दुई लाख रुपैयाँका दरले राहत र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन्।

पहिरोले वायानडको मुनदकाई, चुरालमाला, अटामाला र नुलपुझा गाउँहरूमा धेरै क्षति पुगेको छ।