जनकपुरधाम, साउन १३ गते ।

सर्लाहीमा पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणमा प्रहरी अनुसन्धानको अन्तिम चरणमा पुगेको छ ।

उनको हत्या सहयोगी भइ घरमा काम गर्ने युवकले नै गरेको अनुसन्धानमा खुलेको प्रहरी स्रोतले जनाएको छ ।

चन्द्रनगर गाउँपालिका वडा नम्बर १ स्थित रतनपुरमा रहेको फार्म हाउसमा गत साउन ६ गते राति पुर्वराज्यमन्त्री रायको हत्या भएको थियो।

घटनाको राती रायसँगै उक्त घरमा काम गर्ने सहयोगी कविलासी नगरपालिका वडा नम्बर ३ स्थित मदनपुर घर भएका २१ वर्षीय रामउजैन राय यादव थिए। उनले नै विवाद हुँदा रायको हत्या गरेको अनुसन्धानमा खटिएका एक प्रहरीले बताए ।

नियन्त्रणमा लिएर सोधपुछ गर्दा रामौउजैनको संलग्नता भेटिएको हो । ती प्रहरीका अनुसार रामउजैनले हत्या गरेको समेत स्वीकारेका छन्।

अहिलेसम्मको सबुत प्रमाणले उनैले हत्या गरेको देखिन्छ। बयानमा पनि उनले हत्या गरेको स्वीकारिसकेका छन्। भेटिएका सबुत प्रमाणको फरेन्सिक रिपोर्ट आइसकेपछि घटनामा संलग्नलाई सार्वजनिक गरिनेछ,’ उनले भने।

प्रहरीका अनुसार रायको हत्या गरी रामउजैनले लगाएका गन्जी घर छेउमै फालेका थिए। हत्या गर्न प्रयोग गरेका उखु काट्ने फर्सा घरबाट ५० मिटरको दुरीमा झाडीमा फालेका थिए।

`धेरै बेरसम्म खुटा थिच्न भन्थे। काम गरिरहँदा धेरै इरिटेट गर्ने, गाली गर्ने गरेका थिए। राति भनाभन भएपछि घरमा रहेको उखु काट्ने फुर्सा प्रहार गरी हत्या गरेको बताएका छन्´, ती अनुसन्धान अधिकृतले थपे।

राम उजैन पहिले भट्टीबाट इँटा ओसार्ने काम गर्थे।

तीन महिना अघिमात्रै रायको काठमाडौंस्थित घरमा उनी काम गर्न पुगेका थिए। तर त्यहाँ उनको गतिविधि राम्रो नभएको भन्दै फेरि गाउँमा फर्काइएको थियो।

त्यसयता रामउजैन रतनपुरमा बसिरहेका थिए।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहका अनुसार करिब डेढ महिनादेखि फेरि रतनपुरस्थित रहेको पूर्व राज्यमन्त्री रायको खेतमा रामउजैनले काम गरिरहेका थिए।