जनकपुरधाम, असार २४ गते ।

चर्को घाममा जिल्ला प्रशासन कार्यालय, धनुषा परिसरमा लाइनमा उभिएकी सञ्जिता मण्डल पसिनाले निथ्रुकै भिजेकी थिइन्। हंसपुर नगरपालिका–३, कठपुल्ला गाउँबाट नागरिकता प्रमाणपत्र बनाउन आएकी उनी शुक्रबार चौथो दिन लाइनमा थिइन्। त्यस दिन पनि नागरिकता बन्छ भन्नेमा ढुक्क थिइनन्। मुहारमा उदासिनता झल्किन्थ्यो। ‘नागरिकता लिन आएकी थिएँ। कर्मचारीले दौडाउँदा दौडाउँदै हैरान पारिसके। सोर्स पनि लगाएकी छु। आज पनि (नागरिकता) बन्छ कि बन्दैन,’ उनले भनिन्।

सञ्जिताका अनुसार उनी पहिलोपटक जेठ २१ गते आफ्ना श्रीमान् दुर्गा मण्डलका जिल्ला प्रशासन कार्यालयमा आएकी थिइन्। त्यस दिन कर्मचारीले जन्ममिति मिलेन भनेर फर्काइदिए। ‘सबै कागज, प्रमाण लिएर आएका थियौं। अधिकृतले तोक लगाइदिएर सनाखतका लागि पठाएका थिए। कर्मचारीले जन्मदर्तामा रहेको र अभिलेखमा रहेको जन्ममिति मिलेन भने। सबै कागज कर्मचारीले नै राखे,’ दुर्गाले भने, ‘मैलै हेर्दा फरक थिएन। सनाखत फाँटका कर्मचारीले सिडिओ (प्रमुख जिल्ला अधिकारीं) सँग मिटिङ गरेर फाइल अघि बढाउन मिल्छ, तपाईंलाई फोन गर्छु अनि आउनू भने।’

दुर्गाका अनुसार एक सातासम्म पनि फोन नआएपछि आफै जिल्ला प्रशासन कार्यालय गए तर मैले फोन गरेकै छैन भनेर कर्मचारीले फर्काइदिए। दुर्गा फेरि गए, फेरि पनि कर्मचारीले फर्काए। कर्मचारीबाट हैरान भएका दुर्गाले अन्ततः मधेस प्रदेशसका सभामुख रामचन्द्र मण्डलाई फोन गरेर समस्या सुनाए। सभामुख मण्डल उनको क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएका हुन्।

गत साता शुक्रबार सभामुखले सहायक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विष्णुप्रसाद भुसाललाई फोन गरेर छिटै निर्णय दिन आग्रह गरेपछि सञ्जिताको फाइल अघि बढ्यो। ‘सहायक सिडिओ सा’बले सनातख फाँटका कर्मचारीलाई बोलाएर फाइल मगाउनुभयो। केही पनि त्रुटि भेटिएन। मैले के नमिलेको हो, देखाउनुहोस् भन्दा उहाँ (फाँटका कर्मचारी) ले सुन्दै सुन्नुभएन,’ दुर्गाले भने, ‘कुनै त्रुटि नभई किन फाइल रोकिएको हो, मलाई थाहा छैन तर यहाँ यस्तै हुन्छ।’

उनले सिडिओ कार्यालय घुसखोरीको अखडा बनेको आरोप लगाए। ुजनतालाई दुःख दिएर हैरान पार्छन्। अन्तिममा कार्यालयमा भित्रबाहिर गर्ने दलाल (बिचौलिया) लगाएर घुस लिन्छन् र काम गरिदिन्छन्,’ उनले भने, ‘मैले पनि २५ सय रुपैयाँ दिएको भए यति यति धेरै हैरानी हुने थिएन।’ दुर्गाका अनुसार कामका लागि आउने मानिसहरू दिनदिनै धाउनु र हैरानी भोग्नुभन्दा दुई, तीन हजार रुपैयाँ दिएर चाँडो काम गर्न सजिलो मान्छन्।

सहायक प्रजिअ भुसालले सनाखत फाँटका कर्मचारीले सञ्जिताको फाइल अड्काएर हैरान पारेका थिए वा प्रमाणमा त्रुटि थियो भन्ने बारेमा प्रतिक्रिया दिन मानेनन्।

उनले भने, ‘कागजमा ठ्याक्क के थियो, मलाई थाहा भएन। कार्यालयलमा भिडभाड थियो सभामुखज्यूले फोन गरेर हेरिदिनू भनेपछि कर्मचारीलाई त्यसैअनुसार भनेको हुँ।’

कागज तयार गर्दा र धेरैपटक आउजाउ गर्दा १५ हजार रुपैयाँ सकिएको तर नागरिकता प्रमाणपत्र नबनेकोमा आफूलाई धेरै चित्त दुखेको दुर्गाको भनाइ छ।

जनकपुरधाम उपमहनगरपालिका–२२, कुर्थाकी राधिका साह पनि सञ्जितासँगै नागरिकता प्रमाणपत्र बनाउने लाइनमा थिइन्। उनले आठ महिना उमेरको एक सन्तान बोकेकी थिइन्।

उनले आफू शुक्रबार पाँचौँ दिन लाइन लागेको बताइन्। उनी आफ्नी नन्द विनीतालाई साथमा लिएर आएकी थिइन्। उनीहरू पालैपालो लाइनमा बस्थे। विनिताको हातमा कागजातको फाइल थियो।

राधिकाकी आमाको नागरिकता पुरानो भएर फोटो बिग्रेकाले प्रतिलिपि बनाउनु पर्दा काम ढिलो भएको विनिताले बताइन्। उनले यसमा पनि कर्मचारीले धेरै दुःख दिएको गुनासो गरिन्।

उनले भनिन्, ‘एउटा काममा चार दिन लगाइदियो। आज नागरिकता बन्छ कि बन्दैन थाहा छैन।’

जनकपुरधाम उपमहानगरपालिका–१९, जमुनियाका प्रेमकुमार यादव पनि आफ्नी ३५ वर्षीया श्रीमती मञ्जु यादवको नागरिकता प्रमाणपत्र बनाउन लाइनमा थिए। उनले आफू लगातार चौथो दिन आएको बताए।

उनले भने, ‘चार दिन भयो, धाएको धायै छु। सबै कागजात लिएर आएको छु तर कर्मचारीले सरजमिन मुचुल्काको झन्झटमा पारिदिएका छन्।’

जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्रमाणपत्र लिन लाइनमा बसेकामध्ये १२ जनासँग कुरा गर्दा सबैभन्दा कममा तीन दिन र बढीमा १० दिनसम्म धाउने भेटिए।

सेवाग्राहीले हैरानी खेप्नुपर्ने यस्तो घटना नयाँ होइन। अलिकति पैसा नपाई कर्मचारीले काम गर्दैनन् भन्ने धारणा सेवाग्राहीमा पाइन्छ। उनीहरू वडा कार्यालयमै हैरान भएका हुन्छन्।

लाइनमा बसेका एकजना सेवाग्राहीले भने, ‘वडाका कर्मचारीले बद्मासी गरिदिन्छन्। कहिलेकाहीँ त वडा अध्यक्षले पनि दुःख दिन्छन्।’

सेवाग्रहीहरूको गुनासो जानकारी गराउँदा प्रजिअ रामुराज कडरियाले दुःख दिने नियत नरहेको बताए।

‘सेवाग्राहीले चाहिने सबै प्रमाण ल्याएका हुँदैनन्। प्रमाण जुटाउनुको साटो नेता खोज्दै हिँड्छन्,’ उनी भन्छन्, ‘हामीले प्रमाण हेर्नैपर्छ। पत्रकार भेटेपछि कार्यालय धाएको सात दिन भयो, १० दिन भयो भन्छन्। हामी प्रमाण माग्छौँ। प्रमाण नल्याउनेले अनेक बहाना बनाउँछन्।’

जन्मदर्ता र शैक्षिक प्रमाणपत्रमा नाम फरक परेर समस्या हुने गरेको उनले बताए। कर्मचारीबाट हुनसक्ने मानवीय त्रुटिबाहेक कार्यालयमा अरू कुनै समस्या नरहेको दाबी पनि उनले गरे।

कतिपय सेवाग्राहीले सञ्चारकर्मीसँग झुठो बोलेर कर्मचारीलाई दोषी देखाउने गरेको उनको भनाइ छ।

नगराइन नगरपालिका–४, फुलगामा निवासी उमेश मण्डल श्रीमतीको नागरिकता बनाउन आएका थिए। प्रजिअ कँडरियाको भनाइ जानकारी गराउँदा उमेशले अस्वीकार गरे।

उनले भने, ‘मेरो फाइल हेर्नुहोस्। म असार दुई गतेदेखि नै दौडेको दौड्यै छु। कर्मचारीले मनपरी गरेको छ। कर्मचारीले भनेको जति सबै गरिसकें तर नागरिकता दिँदैन।’

उमेशका अनुसार उनको बिहे महोत्तरीमा भएको हो। उनले कर्मचारीले भनेअनुसार आफ्ना ससुराको नागरिकता प्रमाणपत्रको अभिलेख ल्याए। वडा कार्यालय र नजिकको प्रहरी कार्यालयबाट सिफारिस पनि ल्याए। सरजमिन पनि गराए।

अझै पनि उनकी श्रीमतीको नागरिकता प्रमाणपत्र बनेको छैन।

उनी भन्छन्, ‘कार्यालय बाहिर दलालै दलाल बसेका छन्। उनीहरू कर्मचारीको सम्पर्कमा हुन्छन्। एउटा नगारिकतामा दुई हजारदेखि पच्चीस सय रुपैयाँसम्म घुस लिन्छन् अनि एक दिनमै बनाइदिन्छन्।’

बिचौलियाबारे सेवाग्रहीको गुनासो जानकारी गराउँदा प्रजिअ कडरियाले पनि फाटफुटरूपमा हुन सक्ने बताए।

‘अस्ति भर्खर लेखनदास भनेर बसेका एकजना बिचौलियालाई पक्रेर थुनें। बिहान १० देखि ५ बजेसम्म थुनेपछि दबाब आयो अनि छोडदिएँ,’ उनले भने, ‘अबदेखि व्यक्तिगत कामबाहेक कार्यालय आउँदिनँ भनेर कागज गरेका छन्। एक पटकलाई माफी गरिदिएँ। अर्का एकजना भागेका छन्।’

प्रजिअले ‘फाटफुट’ भने पनि बिचौलियाहरू प्रशस्तै देखिन्छन् र उनीहरू सेवाग्राहीसँग कुरा मिलाउने प्रयास गरिरहेका हुन्छन्।

साभार : सेतोपाटी

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO