जनकपुरधाम, जेठ १५ गते ।

भन्सार छलेर ल्याइएको काजु-किसमिस बोकेको ट्रक सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको छ।

१२ सय किलो काजु र ५ सय ४० किलो किसमिस बोकेको ट्रक सोमबार साँझ जनकपुर उपमहानगरपालिका–१ स्थित सिता चोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल सुरक्षा बेस जनकपुरबाट प्रहरी निरिक्षक उमेशकुमार कार्कीको कमान्डमा खटिएको गस्ती टोली र जनकपुर भन्सार कार्यालयबाट अधिकृत रविनलाल दासको कमान्डको संयुक्त टोलीले उक्त काजु तथा किसमिस बरामद गरेको हो।

भारतबाट मधेस प्रदेश ०४(००१ ख ०१७१ नम्बरको ट्रकमा ल्याएको २३ लाख २६ हजार मूल्य बराबरको काजु र किसमिस बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं ८ गण धनुषाका एसपी दर्शन गिरीले जानकारी दिए।

उनका अनुसार नियन्त्रणमा लिइएको ट्रकसहित जम्मा ५५ लाख लाख ५० हजार बराबरको सामान जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ। यसबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।