जनकपुरधाम, जेठ १५ गते ।
जनकपुरमा दिनदहाडै ८० लाख रुपैँया लुटेर फरार भएका लुटेरा अझैपनि प्रहरीको नियन्त्रणमा आउन सकेको छैन । गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनामा हतियारधारी तीन जनाको समूहले सहकारी संस्थाका कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेर फरार भएका थिए।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उक्त घटनामा जम्मा ८ जनाको संलग्नता देखिएको छ । तीमध्ये प्रहरीले दुईजनालाई मात्रै नियन्त्रणमा लिन सकेको छ । धनुषाको मिथिला नगरपालिकाका जनक महतो र जनकपुर बस्दै आएका महोत्तरीका श्रवण कापरलाई मात्रै प्रहरीले पक्राउ गर्न सकेको हो । दुई जना पक्राउ परेपछि धनुषा प्रहरीले अधुरो अनुसन्धानको भरमै उनीहरुलाई वैशाख ३० मा सार्वजनिक गरेको थियो ।
वाहवाही कमाउन प्रहरीले मुख्य अभियुक्तलाई पक्राउ गर्न नपाउँदै दुई जनालाई सार्वजनिक गरिदिएपछि बाँकी अपराधीलाई उम्किन सहज भएको प्रहरी अधिकारीहरु बताउँछन । आरोपितलाई सार्वजनिक गर्दै धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले भनेका थिए, ‘उनीहरुले प्रहरीले आफूहरुलाई समात्छ भनेर सोचेकै थिएनन्।’
प्रदेश प्रहरी कार्यालय जनकपुरको विषेश सहयोगमा लुटपाटमा संलग्न दुबैजनालाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका एक प्रहरी निरिक्षकका अनुसार यस घटनाका मुख्य नाइके सर्लाहीको हरिपुर्वा नगरपालिका ७ स्थित बसतपुर बस्ने उदय साह हलुवाई हुन । उनी यसअघि समेत भएका विभिन्न लुटपाटका घटनामा समेत संलग्न थिए । लुटपाटमा संलग्न हलुवाईसँगै ६ जना भारतमै गएर लुकेको प्रहरीको दावी छ ।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले लुटपाटमा संलग्न रहेका अभियुक्तहरुको खोजी भइरहेको बताए। वैशाख २४ मा धनुषाको सबैला नगरपालिका–१२ मा रहेको श्रीशुभ बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्र महतोले जनकपुरधामस्थित हिमालयन बैंकबाट ९० लाख रुपैयाँ झिकेका थिए। उनले १० लाख जनकपुरधाममै खर्च गरेर ८० लाख लिएर जाँदै गर्दा बाटोमा उनको रुपैयाँ लुटिएको थियो ।