जनकपुरधाम, जेठ १३ गते ।
मधेश प्रदेशमा बजेट खर्चको अवस्था दयनीय देखिएको छ । चालु आर्थिक वर्षको १० महिनामा प्रदेश सरकारले १८.८ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ ।
चालु आर्थिक वर्षका लागि सरकारले रु. ४४ अर्ब ११ करोड ४० लाख ३२ हजार बजेट ल्याएको थियो । तीमध्ये हालसम्म १८.८ प्रतिशत रकम मात्र खर्च भएको मधेस प्रदेश लेखा नियन्त्रणको कार्यालय जनकपुरधामले जनाएको छ ।
कार्यालयका लेखा अधिकृत मनोज झाका अनुसार कुल बजेटको चालुतर्फ तर्फ २४ दशमलव ६४ प्रतिशत अर्थात रु. चार अर्ब ४६ करोड ७४ लाख ६८ हजार तथा पुँजीगत तर्फ १४ दशमलव ४४ प्रतिशत अर्थात रु. तीन अर्ब ६९ करोड २१ लाख ८० हजार बजेट खर्च भएको छ ।
प्रदेशका मन्त्रालयहरुमा निरन्तर मन्त्रीको हेरफेर, सचिवलगायत कर्मचारीको अभाव, निमित्तको भरमा मन्त्रालय सञ्चालन हुनु, योजना र बजेट बाँडफाँडलगायत समस्याले लक्ष्यअनुसार विनियोजित बजेट खर्च नभएको झाको भनाई छ ।