जनकपुरधाम, जेठ १० गते ।
धनुषामा क्रसर उद्योगमा काम गरिरहेका एक युवकको मृत्यु भएको छ। गणेशमान चारनाथ नगरपालिका ६ मा सन्तोष चौधरीले संचालन गरेको कमला स्टोन क्रसरमा बुधबार दिउँसो ती युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मेसिन सफा गर्ने क्रममा फित्तामा बेरिएर स्थानीय २० वर्षीय अर्जुन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए । उनकाका अनुसार ढुंगा फोड्ने मेसिनको फित्तामा टाउको च्यापिएको अवस्थामा यादव मृत भेटिएका थिए।
त्यहीँ काम गरिरहेका बाराको निजगढ घर भएका ४५ वर्षीय खेमकुमार मगर घाइते रहेको उनले बताए। मगरको अवस्था सामान्य रहेको र गोदारस्थित निजी अस्पतालमा उपचार भइरहेको डिएसपी अवाको भनाई छ। मृतक यादवको शव पोष्टमर्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। मृतक यादवका परिवारले घटना शंकास्पद रहेको र हत्या भएको हुनसक्ने आशंका गरेका छन ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी अवाले यो घटनामा शंका गर्ने केही आधार नभएको दावी गरे । घटना शंकास्पद नहुने देखेर सोधपुछको लागि समेत कसैलाई नियन्त्रणमा नलिएको उनको भनाई छ ।