सुरेश यादव
जनकपुरधाम, जेठ १० गते ।
जेठ ९ साँझ ९ बजे म जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुगेको थिएँ । मेरी सासुआमा लिभर क्यान्सरको बिरामी हुन् । तीन वर्षदेखि उनको उपचार भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भइरहेको थियो । बिरामी स्वयम् र परिवारजनलाई रोगवारे जानकारी हुँदासम्म अप्रेशन हुनै नसक्ने स्टेजमा पुगिसकेको रहेछ । केमो थेरापी लगायत अन्य प्रविधिबाट उपचार गर्दागर्दै पनि लिभर कामै नलाग्नेगरी खराब भइसकेको अवस्थामा डन्डिस भन्ने अर्को रोगले ग्रस्त हुन पुगे । अब झन् बिरामीलाई बचाउन सक्ने थोरै आधार पनि नदेखेपछि चिकित्सकले घरमै लगेर डन्डिस निको हुने औषधी खुवाउन र केही सुधार भएपछि पुनः अस्पताल ल्याउन भनेर घर पठाइदिएको थियो । त्यसको दुई दिनपछि जेठ ९ गते करिब साढे १२ बजेको समयमा अचानक पेट फुलेको समस्या देखियो । मेरो सालोले फोनगरी सोधे, कहाँ जाउँ ? के गरौँ ? मैले तत्काल प्रादेशिक अस्पतालको इमेरजेन्सीमा लगेर भर्ना गर्न सुझाएँ ।
त्यसको केही वेरपछि म पनि अस्पताल पुगेँ । चिकित्सकका सहयोगी स्वास्थ्यकर्मीहरुले स्लाइन लगाउँदै थिए ।
म एक छिन बसेर अन्य कामका लागि बाहिर निस्केँ । साँझ करिब ९ बजे पुनः अस्पताल पुगेँ मेरा एक जना साथी सन्तोष यादवलाई सँगै लिएर । अस्पतालमा पुग्ने बित्तिकै कुरुवा बसेकी मेरी श्रीमतिले लिभरले काम नगर्ने भएपछि शरीरको विकार निस्किन पेटमा सेट गरिएको पाइप मिसप्लेस भएको र त्यसलाई यहाँ मिलाउन नसकिने भएकोले भरतपुर क्यान्सर अस्पताल नै लग्नुपर्ने बताइन् । मलाई विश्वास लागेन यति जाबो काम पनि जनकपुरमा सम्भव नहोला भनेर । मैले हो र रु यति काम पनि यो अस्पतालमा सम्भव छैन रु भनेर अस्पतालका उपनिर्देशक डा।केडी दासलाई सोधेँ । उनले यसवारेमा त्यहाँस्थित उपचारमा रहेका स्वास्थ्यकर्मी र डाक्टरसँग सोध्नुपर्ने बताए । मैले बुझ्नुहोस् र छ भने तत्काल काम होस् नभए बाहिर लग्छौं भनेर फोन संवाद टुंग्याएँ ।
डा।दाससँग फोनमा कुरा गरिसकेपछि इमेर्जेन्सी कक्षमा कार्यरत एक जना स्वास्थ्यकर्मी (कन्ठी पहिरिएका पुरुष) सँग सोधेँ, यहाँका सिफ्ट इन्चार्ज को हो रु उहाँले यो अस्पतालमा सिफ्ट इन्चार्ज कोही नभएको जवाफ दिनुभयो । त्यसो भए डाक्टर को हुनुहुन्छ भनेर सोध्दा डा।अजित सिंह भन्दै उनलाई देखाइदिए । म डा।सिंहसँग कुरा गर्न खोज्दा उनी राम्रोसँग कुरा गर्न मान्नुभएन । मलाई इग्नोर गरेको जस्तो महसुस भयो । त्यसपछि मैले फेरी उहाँलाई बिरामीको समस्या र समाधानको उपायवारे बुझ्न खोज्दा उनको ध्यान मसँगै उभिरहेका साथी जसले हाम्रो संवादलाई मोबाइल फोनको क्यामेरामा कैद गरिरहेका थिए उनी तर्फ पुग्यो । उनले झम्टेर साथीको हातबाट मोबाइल फोन खोसेर प्रहरीलाई थमाइदिए र हामीमाथि तथानाम गर्दै नराम्ररी प्रस्तुत हुन थाले । यसरी कि अस्पतालमा डाक्टरले काम गरेपनि नगरेपनि उनलाई कसैले केही सोध्न नहुने, निगरानी गर्न नहुने हो ।
प्रहरीसँग मैले मोबाइलमा भिडियो लिएकै भरमा अन्यथा लिन नहुने भन्दै बरु म वा डाक्टर मध्ये कसले बदमासी व्यवहार देखाएको हो भन्ने पत्ता लगाउन पनि भिडियो सहायक हुने भएकोले त्यसलाई सुरक्षित राख्न अनुरोध गरेँ । डाक्टर र प्रहरीले भने जसरी पनि त्यो भिडियो डिलिट गर्नतिर लागिपरे । त्यसै क्रममा नोकझोंक भयो । मैले बिरामीलाई उपचार गर्ने जिम्मेवारी लिएर अस्पतालमा काम गर्ने डाक्टरलाई तोकिएको जिम्मेवारी वहन गर्न अनुरोध गरिरहेँ । डाक्टर अजित सिंह र प्रहरीले भने मलाई जसरी पनि नियन्त्रणमा लिन प्रयास गरिरहयो ।
मैले डा। दासलाई दोहोर्याएर फोन गर्दा अघिल्लो फोनमा रिसिभ गर्ने बित्तिकै के छ सुरेश जी भनेर सम्बोधन गरेका उनले दोस्रो पटक फोन गर्दा को बोलेको रु को बोलेको भनेर सोधिरहे मात्रै । अरु केही रिसपोन्स गरेनन् । जिल्ला प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीलाई फोन गरेँ । एसपी तिवारीले प्रहरीसँग बुझ्छु भनेर फोन काटे । त्यसपछि जानकी प्रहरी चौकीबाट चौरसिया थर भएको एक जना असई अस्पतालमा पुगेर मलाई नियन्त्रणमा लिए । माथिको आदेश भन्दै मेरो केही सुन्न तयार भएनन् उनी । डा. जितले भने अनेकतिर फोन घुमाउँदै मेरो वारेमा अनावसनाव बोलिरहेको सुनिरहेँ ।
जानकी प्रहरी चौकीमा पुगेपछि मलाई असई चौरसियाले अपराधीजस्तै व्यवहार गरे । करिब १५ मिनेट पछि राति करिब ११ बजेतिर सई सन्तोष बुढा आए र मलाई पुनः अस्पतालमा फर्केर नजाने शर्तमा रिहा गरेको सुनाए । मेरी श्रीमति र सासुआमा अनि बच्चाहरु रहेको अस्पतालमा म किन जान नपाउने भनेर सोध्दा उनले पनि माथिको आदेश सुनाए । आखिर माथि को हुन् र के को भरमा यस्तो आदेश दिइरहयो मैले थाहा पाउन सकिन । सोही बीचमा म प्रहरी नियन्त्रणमा रहेको सन्देश फेसबुक मार्फत सार्वजनिक गर्न भ्याइसकेको थिएँ ।
एकछिनपछि दाई विरेन्द्र कर्ण, साथी सुशिल कर्ण लगायत करिब २०÷२१ जना युवाहरु जानकी प्रहरी चौकीमा आइपुगे । उनीहरु त्यहाँ पुग्नु अगावै मलाई छोड्न कागज लेखिदै थियो । मलाई उक्त कागजमा सही गर्न प्रहरीले भन्यो । मैले सही गर्छु तर, त्यो पेजको फोटो खिच्न पाउनुपर्ने शर्त राखेँ । प्रहरीले फोटो खिच्न दिएन । म पनि अडानमा कायम रहेपछि सही नगरिकनै मलाई जाने अनुमति दियो ।
म अस्पतालमा फर्केर पुग्दा मेरी श्रीमति र सालाहरु यति भयभित भइसकेका थिए कि म एकछिन पनि अस्पतालमा नरुकौंँ । मलाई तुरुन्त त्यहाँबाट निस्किन सबैले कर गरिरहे । बरु आमा मरोस् तर म झगडा गर्दिन भन्दै मेरी श्रीमतिले थप केही नबोल्न दबाव दिइरहिन् । त्यतिकैमा पत्रकार दाई अनिल कर्ण र साथी सुशिल कर्ण लगायत अन्य साथीहरु अस्पतालमा पनि पुगे । मेरो परिवारका सबैजना डाक्टर र प्रहरीहरुको रबैया देखेर एकछिन पनि त्यहाँ बस्न मानिरहेका थिएनन् । म बाहिर निस्किँए । एकछिनपछि उनीहरुले पनि बिरामीलाई लिएर मेरो जनकपुरको थापा चोकस्थित घर पुगे, भोली बिहानै भरतपुरको क्यान्सर अस्पताल जाने योजना सहित ।
मैले समग्रमा अस्पतालमा के देखेँ त भन्दा, त्यहाँका डाक्टरहरुले कि त बिरामी उसको निजी अस्पतालमा गइदियोस् नभए जसरी पनि बाहिर जान बाध्य होस् । अर्थात् सरकारी अस्पतालमा काम गर्ने डाक्टरहरु निजी अस्पतालका लागि दलाली गर्ने प्रवृति चरमसीमामा पुगेको देखियो । प्रादेशिक अस्पताल जहाँ वर्षेणी सरकारको करोडौँ करोड लगानी भइरहेको छ, त्यहाँको अवस्था दैयनीय छ । लगानीको अनुपातमा बिरामीले स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन् ।
मैले जहिले पनि सम्पर्कमा आउनेलाई स्वास्थ्य सेवाका लागि प्रादेशिक अस्पतालमै जान कर गरिरहन्थे ।
तर, धेरैले त्यहाँ बिरामीलाई वास्ता नहुने, डाक्टरहरुले इमान्दारीपुर्वक स्वास्थ्य सेवा नदिनेगरेको गुनासो गर्दा यतिसम्मको भोगाइ नभएसम्म म पत्याइरहेको थिइँन । तर, आज म आफै बिरामीको आफन्त भएर जब अस्पतालमा पुगेँ अनि जे देखेँ यसले कि त म जस्ता सञ्चारकर्मी र सचेत नागरिकहरुले योजनाबद्ध रुपमा अपराध विरुद्ध आवाज उठाउनुपर्ने हो नभए देश छाडेर पलायन हुनुपर्ने बोध भएको छ । आजको मेरो भोगाई जीवनकै तितो अनुभव रहयो । अब पनि नबोले म जस्ता व्यक्ति कहिले बोल्ने ?