जनकपुरधाम, वैशाख २९ गते

एचआइभीको क्षेत्रमा कार्यरत्त रहेका संस्थाको सेवाको अनुगमन गरिने भएको छ ।
एचआईभीको क्षेत्रमा स्पर्श नेपाल, सुनौलो विहानी समाज, प्रादेशिक अस्पतालमा रहेको एआरटी सेन्टरमा उपचार गराईरहेका तथा एनए+पिएन संस्थाले कार्य गरिरहेकोमा उनीहरुको सेवाबाट सेवाग्राही संतुष्ट छन अथवा छैनन् त्यसको अनुगमनका लागि युएनएड्सको सहयोगमा सिएलएम (सामुदायिक नेतृत्वको अनुगमन) परियोजना सञ्चालन हुन लागेको हो ।
स्पर्श नेपाल धनुषाका फोकल पर्सन कुलदिप साहले यौन व्यवसायमा लागेका, विदेशबाट आएकाहरु, लागूऔषध सेवनकर्ता, एचआईभी संक्रमितहरुलाई आफुहरुले सेवा दिँदै आएकोमा आफुहरुको सेवा कस्तो रहेको त्यसको अनुगमन गरिने बताए ।
अनुगमनका लागि सेवाग्राहीकै समुदायबाट एक एक जना गरि चारजना पिअर लिडर पठाएर फारम भराएर सेवाको अनुगमन गरिने साहले बताए ।
यस परियोजना अन्तर्गत कुल ५ सय ६ जनासँग सर्वेक्षण गरिनेछ । एम.एस.एम.टि.जि.का १२७, सुईद्वारा लागूऔषध लिने ९० जना, महिला यौनकर्मी १६५ जना र एचआईभी संक्रमित १२४ जनासँग सर्वेक्षण गरिनेछ ।
यसअघि पनि अनुगमन गर्दा टाढाबाट आउने सेवाग्राहीहरुको हकमा यातायात खर्च उपलब्ध गराउनुपर्ने, भाइरल लोड चेकजाँचको रिपोर्ट समयमा नआइरहेको समस्याहरु रहेको जस्ता गुनासो गरेका थिए ।
स्पर्श नेपालको तथ्यांक अनुसार धनुषामा यस जिल्लाका र जिल्ला बाहिरका गरि कुल ६५४ जना संक्रमित उपचार गराईरहेका छन् ।
शनिबार जिल्ला समन्वय समितिका अध्यक्ष राजनन्दन मण्डलको अध्यक्षतामा भएको बैठकमा तथ्यांक संकलनमा आएका समस्याहरुलाई समाधान गर्ने सम्बन्धीत व्यक्तिहरुले प्रतिवद्धता समेत जनाए ।
लक्षित समुहसँग हुने भेदभावलाई न्यूनिकरण गर्ने, एचआईभी संक्रमित महिलाहरुमध्ये एउटा महिलालाई सिलाई कटाई तालिमसहित मेशिन प्रदान गरिने, धनुषाको १८ वटै स्थानीय तहमा एचआईभी संक्रमित व्यक्तिहरुका लागि यातायात खर्चको लागि बजेट विनीयोजन गर्नका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जिसस धनुषाका सभापति मण्डलले जनाए ।