जनकपुरधाम, वैशाख २७ गते ।

महोत्तरीको मटिहानी नगरपालिकामा आगलागी पीडित बालबालिकालाई शैक्षिक समाग्री वितरण गरिएको छ । गत वैशाख १२ गते आगलागीमा एक सय बढी परिवारका किताब, कपी सहित घरका सम्पुर्ण सामान जलेर नष्ट भएपछि यहाँका विद्यार्थी पढाईबाबटै वञ्चित भएका थिए ।

सेभ द चिल्ड्रेन, मटिहानी नगरपालिका एवं रतौली युवा क्लबको समन्वयमा २२१ जना बालबालिकालाई शैक्षिक समाग्री वितरण गरिएको हो । कापी, कलम, पोशाक, झोला सहित १५ भन्दा बढी प्रकारका शैक्षिक सामग्री ती विद्यार्थीलाई उपलब्ध गराइएको सेभ द चिल्ड्रेनकी मिडिया संयोजक रचना श्रेष्ठले बताइन ।
उनका अनुसार बालविकास देखि कक्षा ५ सम्मका जम्मा ७६ जना बालक र ८३ जना बालिका तथा कक्षा ६ देखि कक्षा १२ सम्मका जम्मा ३२ जना बालक र ३० जना बालिकाहरू गरि जम्मा २२१ जनालाई तीन लाख ७१ हजार बढी रकम बराबरको शैक्षिक सामग्री वितरण गरिएको हो । बिचल्लीमा परेका विद्यार्थीले शैक्षिक समाग्री वितरण गरिएपछि खुशी व्यक्ति गरिन ।

‘आगलागीबाट मेरो सबै किताब कापी जलेर केहि बाँकि थिएन । पढ्न पनि पाएको थिएन , आज कपि , कलम, व्याग, पानीको बोतल, ड्रेस, झोला, किताबहरू पाएपछि म धेरै खुशी भएको छु, । अब म सधैँ स्कुल जान्छु, मन लगाएर पढ्छु,’ कक्षा ४ मा अध्यनरत लक्ष्मिनिया भनिन् ।

जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार यसअघि सेभ द चिल्ड्रेन, मटिहानी नगरपालिका एवं रतौली युवा क्लबको समन्वयमा गत वैशाख १४ गते आगलागी बाट प्रभावित १०३ घरधूरीलाई शेल्टर किट, डिग्निटी किट, सरसफाई सामग्री किट, भान्सा घरमा प्रयोग हुने भाडा बर्तनको सेटका साथै बालबालिकालागि आवश्यक सामग्री वितरण गरिसकेको छ ।