जनकपुरधाम, वैशाख २० गते ।

जनकपुरधाम उपमहागरपालिकाले गत आर्थिक वर्षमा इन्धनमा साढे एक करोड रुपैयाँभन्दा बढी खर्च गरेको पाइएको छ। हालै महालेखा परीक्षकको कार्यालयले जनकपुर उपमहानगरपालिका कार्यालयलाई पठाएको आर्थिक वर्ष २०७९ ८० को प्रारम्भिक प्रतिवेदनमा सरसफाइ र कार्यालय प्रयोजनमा इन्धनमा १ करोड ५८ लाख ५७ हजार ७५३ रुपैयाँ खर्च गरेको उल्लेख गरिएको छ। तर उपमहानगर कार्यालयले सवारी प्रयोगकर्ताको गन्तव्य, दूरी, समय र इन्धन खपतको विवरण जनाउने लगबुक राखेको छैन।

प्रतिवेदनले इन्धन खपतको पुष्ट्याइँ हुनेगरी लगबुक राख्न सुझाब दिएको छ। लगबुक नहुँदा इन्धन खपत मापदण्ड अनुसार भए–नभएको यकिन गर्न कठिनाइ हुने तथा इन्धन र सवारीसाधनको दुरूपयोग हुन सक्ने कुरा प्रतिवेदनमा लेखिएको छ।
उपमहानगरपालिकाले जेसिबी, ट्याक्टर, ट्रिपरको वार्षिक इन्धन खपतको विवरण दिए पनि ती साधान कुनकुन कार्यमा खटाएको हो, पूर्वस्वीकृति भएको हो कि होइन, कार्य सम्पन्न भयो कि भएन भन्ने प्रश्न पनि प्रतिवेदनले उठाएको छ।

उपमहानगर कार्यालय जिन्सी शाखाका प्रमुख गणेशप्रसाद यादवका अनुसार उपमहानगरपालिकामा जम्मा ९३ वटा सवारीसाधन छन्। तीमध्ये ट्याक्टरसहित ४९ वटा चारचक्के र बाँकी मोटरसाइकल छन्। उनका अनुसार सफाइका ट्याक्टरलाई एक ट्रिप फोहोर फाल्न चार लिटर डिजेल दिने गरिएको छ भने प्रशासनिक कर्मचारीलाई महिनाको आठ लिटर र प्राविधिकलाई १० लिटर पेट्रोल दिने गरिएको छ ।

उपमहानगरपालिकाले आफ्ना उपकरण र जनशक्तिका अतिरिक्त गत आर्थिक वर्षमा दसैं, तिहार, छठ र विवाहपञ्चमीमा ‘विशेष सरसफाइ’ भनेर १ करोड ५ लाख रुपैयाँ खर्च गरेको छ। त्यो सबै खर्च अनियमित रहेको महालेखा परीक्षक कार्यालयको ठहर छ।

महालेखा परीक्षकको प्रतिवेदनमा जनकपुर उपमहानगरमा सफाइका लागि कुचिकार तथा सफाइकर्मी १०३ जना, दुई थान जेसिबी, २६ थान ट्याक्टर, आठ थान ट्रक रहेको उल्लेख गर्दै अन्य व्यक्तिलाई ‘डोर हाजरी’ मा राख्न तथा जेसिबी र ट्याक्टर भाडामा लिन आवश्यक नदेखिएको ठहर गरिएको छ।