जनकपुरधाम, वैशाख ६ गते ।
जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव बरामद भएको छ । घटनास्थलमै भेटिएकी एक शिशुको भने उपचारको क्रममा मृत्यु भएको छ ।
बुधबार राति करिब ९ बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वर महादेव मन्दिरबाट नजिकै रहेको खेतमा महिलाको शव जलिरहेको स्थानीयले देखेका थिए । उनीहरुले नै शिशुलाई समेत जलेको देखेका थिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाका अनुसार महिला मृत अवस्थामा भेटिएका थिए भने शिशुलाई स्थानीयले उपचारका लागि प्रादेशिक अस्पतालमा पुर्याएका थिए। त्यहीँ उपचारको क्रममा राति नै मृत्यु भएको थियो।
मृतक महोत्तरीको मनरासिसा नगरपालिका २ कि २३ वर्षीया प्रियंका महतो रहेका छन् । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
उनको हत्या गरेर शव जलाएको हुन सक्ने आशंका प्रहरीको छ । यद्यपि पोस्टमार्टम रिपोर्ट र थप अनुसान्धानपश्चात् मात्रै भन्न सकिने डीएसपी अवाले बताए ।