जनकपुरधाम, वैशाख ४ गते ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गरेका छन् । प्रतिपक्षी दलहरुको बहिष्कारका बीच उनले विश्वासको मत लिएका हुन् ।
नेपाली कांग्रेस, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेशसभा बैठक बहिष्कार गरे पनि सभामुख रामचन्द्र मण्डलले विश्वासको मतको प्रस्ताव पेश गर्न दिएपछि मुख्यमन्त्री यादवको पक्षमा उपस्थित सबैले मतदान गरेका हुन्।
सदनमा उपस्थित ६१ जनाले मुख्यमन्त्रीको पक्षमा मतदान गरेपछि बहुमत सदस्यको मत पाएका हुन्। मधेस प्रदेशसभामा १०७ जना सांसद रहेका छन्।
यस्तै, सभामुख मण्डलले सांसदहरुले गरेको तोडफोडका कारण ४ लाख रुपैयाँ बराबरको क्षति भएकाले उनीहरुबाटै क्षतिपूर्ति तिराउने सदनमा जानकारी गराए। मुख्यमन्त्रीले विश्वासको मत पाएपछि बैठक अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित भएको छ।