जनकपुरधाम, वैशाख ४ गते ।
मधेश प्रदेश सरकारबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाहिरिएको छ । पार्टीको संसदीय दलले सरकारबाट बाहिरिदै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेको छ ।
उक्त पार्टीबाट प्रदेश सरकारमा एक्ला मन्त्री रहेका रमेशप्रसाद कुर्मीले आज दिउँसो राजीनामा दिएका छन् । उनी प्रदेशका वन तथा वातावरण मन्त्री थिए । कुर्मीले राजीनामा दिएपछि यो मन्त्रालय मुख्यमन्त्री सरोजकुमार यादवले आफैसँग राखेका छन् ।
मुख्यमन्त्रीलाई विश्वासको मत नदिन लोसपाको केन्द्रीय नेतृत्वबाट निर्देशन आएपछि उनले पदबाट राजीनामा दिएका हुन्। प्रदेश सभामा मंगलबार मुख्यमन्त्री यादवले विश्वासको मत लिँदैछन्।
मुख्यमन्त्रीको सचिवालयले भने पदमुक्त गरिएपछि उनी स्टन्ट गरेर राजीनामा बुझाएको दावी गरेका छन्। लोसपाले विश्वासको मत नदिने निश्चित भए लगत्तै मुख्यमन्त्री यादवले साढे १२ बजेतिर उनलाई पदमुक्त गरेको र सो पत्र प्रदेश प्रमुख कार्यालयले दर्ता समेत गरेको मुख्यमन्त्रीका एक स्वकीय सचिवले बताए।