जनकपुरधाम, वैशाख ३ गते ।

जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर र प्रमुख प्रशासकीय अधिकृतले कानुन विपरित घर भाडामा बसिरहेको पाइएको छ ।

उपमेयर किशोरी साहले आफ्नो घर हुँदाहुँदै वडा नम्बर ११ स्थित रिंकु पंजियारको घरमा भाडामा बसिरहेका छन् ।

उपमहानगरपालिकाले उनी बसेको घरको मासिक २० हजार घरभाडा र बिधुत शुल्क दिने सम्झौता गरेको छ ।

जबकी मधेश प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धी ऐन, २०७७ को दफा १४ मा स्थानीय तहका पदाधिकारी तथा सदस्यले यस ऐनले निर्धारण गरेको सुविधा बाहेक अन्य सुविधा नपाउने उल्लेख छ।

तर नगर परिषदबाट भएको निर्णय अनुसार आफु भाडाको घरमा बसेको उपमेयर साहले जनकपुरन्युजलाई बताए ।

आफ्नो घर पुरानो भएर बस्न लायक नरहेकाले भाडामा बसेको उनको भनाई छ । यसका साथै वर्षा याममा घरमा पानी पस्ने समस्या समेत आउने गरेकाले आफु भाडाको घरमा बसेको उनले जनकपुरन्युजलाई बताए । उनका साथै कानुन विपरित प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले पनि भाडाको घरमा बसिरहेका छन् ।

कार्यालय प्रमुखको घरभाडा तथा अन्य सेवा सुविधा समन्धी कार्यविधि र मापदण्ड नबनाई उप महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतलाई आवास सुविधा दिएको हो ।

वडा नम्बर ४ स्थित निर्माला देवी सुनुवारसँग सम्झौता गरी मासिक २० हजार घरभाडा तथा विद्युत्त शुल्क उपमहानगरपालिकाले तिरिरहेको हो ।