जनकपुरधाम, चैत २७ गते ।

सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधवार उनीविरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

मेयर थापाले स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारले प्रमाणहरु फेला पारेको छ ।

सार्वजनिक पदको दुरूपयोग गरी मेयर थापाले पाँच करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारले विज्ञप्ति जारी गरी जनाएको छ ।

‘निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर पुष्टि हुन आएकोले निजलाई बिगो पाँच करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद तथा जरिवानाको सजाय हुनका साथै निजले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ ख बमोजिम जफत,असुल उपर हुन मागदाबी लिइएको छ,’ प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
नेकपा माओवादी केन्द्रबाट उनी बागमती नगरपालिकामा थापा दोस्रो पटक मेयर निर्वाचित भएका छन् ।