जनकपुरधाम, चैत २५ गते ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत लिने तयारी गरेका छन् । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अगामी वैशाख ३ गते मुख्यमन्त्री यादवले विश्वासको मत लिने तयारी गरेका हुन् ।
कांग्रेसलाई हटाउँदै नेकपा एमालेलाई सरकारमा सामेल गराएर मुख्यमन्त्री यादवले सरकार पुनर्गठन गरेपछि गत चैत ९ गते सरकारलाई दिएको समर्थन कांग्रेसले फिर्ता लिएको थियो ।
संवैधानिक प्रावधानअनुसार तीस दिनभित्र मधेश प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने बाध्यताका कारण मुख्यमन्त्री यादवले चौथो पटक विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिन तथा सरकार संचालनको विषयमा उनले सत्तारुढ दलका नेताहरुसँग पटक पटक मुख्यमन्त्रीले परामर्श गरिरहेका छन् । नेकपा माओवादीले अर्थ मन्त्रालय मागेपछि मुख्यमन्त्रीलाई तत्काल केही अप्ठ्यारो भएको देखिएपनि विश्वासको मत लिन भने सहजै रहेको देखिन्छ ।
जसपा संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री यादव नेतृत्वको सरकारमा नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा एकीकृत समाजवादी पार्टी र नेकपा माओवादी सहभागी छ ।
यसअघि गत माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिएपछि र समर्थनसमेत फिर्ता लिएपछि मुख्यन्त्री यादवले तेस्रो पटक विश्वासको मत लिएका थिए । जसपाका यादव गत वर्ष पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसअघि एमाले सरकारबाट बाहिरिएपछि गत जेठ ३० गते मुख्यमन्त्री यादवले दोस्रो पटक विश्वासको मत लिएका थिए।
त्यतिबेला फेरि एमालेले सरकारलाई विश्वासको मत दिएपछि मुख्यमन्त्री यादवले सिंगो सदनको विश्वासको मत पाए र मधेस सरकार प्रतिपक्षीविहीन बन्यो। सरकार टिकाइराख्न मधेसमा १०७ प्रदेश सभा सदस्यहरुमध्ये यादवलाई ५४ जना सदस्यको समर्थन आवश्यक छ ।
मधेसमा नेपाली कांग्रेसका २२, जसपाका १८, माओवादी केन्द्र र लोसपाका ९–९, एकीकृत समाजवादीका ७, एमालेका २४ र जनमत पार्टीका १३ सांसद छन्। राप्रपा, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका १-१ सांसद छन् । प्रदेश सभामा तीन जना स्वतन्त्र सांसद छन्।