दिवेश कुमार महतो

जनकपुरधाम, चैत २४ गते ।

मधेश प्रदेशका स्वास्थय तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंह सहित धनुषाको ढल्केवरमा २ सय ११ जनाले रक्तदान गरेका छन् । युवाहरुको पहलमा विभिन्न संघसंस्थाहरुले शनिवार संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा मन्त्री सिंह सहित उल्लेख्य संख्यामा युवाहरुले रक्तदान गरेका हुन् । स्थानीयका अनुसार एकै दिन ढल्केवरमा हालसम्म सबैभन्दा धेरै व्यक्तिले रक्तदान गरेका हुन् ।

ढल्केबर सहित वरपरका गाउँका युवा, महिला, व्यापारि, श्रमिक, शिक्षक, राजनितिज्ञ, विधार्थी, पत्रकार, खेलाडी लगायतले रक्तदान गरेका हुन् । ढल्केवर कार्यक्षेत्र बनाएर काम गरिरहेको मिथिला युवा सञ्जाल, मिथिला उधोग बाणिज्य संघ, खानेपानी तथा सरसफाई उपभोक्ता समिति ढल्केबर, मिथिला लायन्स क्लब , मिथिला ब्याडमिन्टन क्लब, मधेस प्रदेश उधोग परिसंघ मधेस प्रदेश ,मिथिला नगर पत्रकार सञ्जालको संयुक्त आयोजना तथा नेपला रेडक्रस सोसाइटी धनुषा शाखाको प्राविधिक सहयोग र ब्लड फर नेपालको सहकार्यमा‌ रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

रक्तदान गर्दै स्वास्थ्यमन्त्री सिंहले एक सयभन्दा बढी पटक आफूले रक्तदान गरेको दावी गरे । २०६० सालमा पहिलो पटक रक्तदान गरेको बताउँदै उनले त्यसपछि प्रत्येक तीन–तीन महिना र आकस्मिक सयम रक्तदान गर्दैआएको बताए । मधेश प्रदेशका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने आफुले गरेको निर्णय केही दिनमा कार्यन्वयन हुने उनले बताए ।

गत चैत १० गते मन्त्रीको रुपमा पदभार ग्रहण गरे लगतै उनले प्रदेशका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरेका थिए । युवाहरुले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रमको प्रशंसा गर्दै मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले अगामी दिनमा यस्तो काममा आफु भौतिक, शारिरिक र आर्थिक रुपले सहयोग गर्न तत्परता देखाउने वाचा गरे । ढल्केबर कार्यक्षेत्र बनाएर काम गरिरहेका युवाहरुको संस्थाले विगत केहि बर्षदेखि राम्रो काम गरिरहेकोमा आफुलाई गर्व महसुस भएको उनले बताए ।

युवाहरुको सक्रियता देखेर आफुपनि एकदमै खुशी भएको उपप्रमुख सुनिता सिंह बुढाथोकीले बताइन् । सबै संस्थाका साथीहरु एकिकृत भएर काम गरिरहेको र यसले सुखद परिणाम दिएको मिथिला युवा सञ्जाल ढल्केबरका अध्यक्ष मनिष महतोले बताए । पछिल्लो समय ढल्केबर विकासका लागि भन्दै युवाहरुले सक्रिय रुपमा काम गरिरहेका छन् । रक्तदान कार्यक्रमअघि उनीहरुले मेला महोत्सव, सरसफाई, खानेपानी, खेलकुद लगायतका क्षेत्रमा समेत काम गरेका छन् ।